अरनिको राजमार्गमा १५ रात सवारी आवागमन प्रतिबन्ध, धुलिखेल–खावा सडक कालोपत्रलाई तीव्रता

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ १६:०२

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा कालोपत्रको काम तीव्र बनाउन १५ दिन रातको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ। जिल्ला सुरक्षा समितिले असार २२ गतेदेखि साउन ४ गतेसम्म रातिको समयमा सडक बन्द गर्ने निर्णय गरेको हो।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार उक्त अवधिमा टिपर र ठूला मालवाहक ट्रकलाई सडकखण्डमा पूर्ण रूपमा प्रवेश निषेध गरिनेछ। अन्य यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई भने बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइनेछ।

आर्थिक वर्षको अन्तिम चरणमा निर्माण सामग्री ढुवानीमा अनावश्यक अवरोध नहोस् भन्ने उद्देश्यले निर्माण कार्य र यातायात व्यवस्थापनबीच सन्तुलन कायम गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। निर्माण अवधिमा यात्रु तथा ढुवानी व्यवसायीलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न पनि आग्रह गरिएको छ।

रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइनेछ। सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गरिने समितिले जनाएको छ।

धुलिखेल–खावा सडकखण्ड अरनिको राजमार्गको व्यस्त खण्डमध्ये एक हो। यसअघि गत चैतमा पनि करिब एक महिनासम्म रातिको समयमा पूर्ण रूपमा र दिउँसो एकतर्फी सवारी सञ्चालन गरी करिब २.५ किलोमिटर सडकमा डिबिएम तथा पिचको काम सम्पन्न गरिएको थियो।

निर्माण सम्पन्न भएपछि यस सडकखण्डमा यात्रा समय घट्नुका साथै पूर्वी नेपालसँगको सडक सम्पर्क थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।