Breaking Nepal

उदयपुर । उदयपुरको कटारी नगरपालिकास्थित सिद्धिचरण लोकमार्गमा शनिबार भएको टिपर दुर्घटनामा सात जना घाइते भएका छन्। अनियन्त्रित भएर सडक किनारमा पल्टिएको टिपरमा सवार यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरीका अनुसार कटारी नगरपालिका–१ पानीट्याङ्की क्षेत्रमा ना १ क ५५४९ नम्बरको टिपर दुर्घटनामा परेको हो। दुर्घटनामा कटारी–२ गुराँसेका ६० वर्षीय शेरबहादुर थापा, ५० वर्षीया सुनिता थापा, २३ वर्षीया जेनी श्रेष्ठ, ४८ वर्षीया सिता श्रेष्ठ, ३९ वर्षीया यशोदा खड्का, ४० वर्षीया कृजा थापा तथा ४० वर्षीय कुलबहादुर अधिकारी घाइते भएका छन्।
घाइतेमध्ये शेरबहादुर थापा र सुनिता थापाको मिर्चैयास्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ। अन्य पाँच जनाको विष्णु क्लिनिक, मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबै घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनालगत्तै टिपर चालक कटारी नगरपालिका–२ ददरियाका २३ वर्षीय राजेश दनुवार फरार भएका छन्। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ।