Breaking Nepal

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीलाई वितरण गरिएको गर्मी भत्तामा अनियमितता भएको आरोपमा पक्राउ परेका अभिषेक गिरीको घटनाले कारागारभित्र तनावपूर्ण अवस्था सिर्जना भएको छ। गिरी पक्राउ परेपछि कैदीबन्दीहरू दुई समूहमा विभाजित हुँदै पक्ष–विपक्षमा प्रदर्शनमा उत्रिएका छन्।
जिल्ला प्रहरी कार्यालयको टोलीले गिरीलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित निवासबाट नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनलाई कारागारसँग सम्बन्धित आर्थिक अनियमितताको विषयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार शनिबार दिउँसो ब्लक ‘बी’ मा रहेका कैदीबन्दीले गिरीको समर्थनमा प्लेकार्ड प्रदर्शन गरे भने ब्लक ‘ए’ का कैदीबन्दीले उनको विरोधमा प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण केहीबेर कारागारभित्र तनावको अवस्था उत्पन्न भए पनि सुरक्षा व्यवस्था कडा बनाएपछि स्थिति नियन्त्रणमा आएको उनले बताए।
कारागारमा हाल तीनवटा ब्लकमा गरी एक हजार १८५ जना कैदीबन्दी रहेका छन्। तीमध्ये ब्लक ‘ए’ मा ५३९, ब्लक ‘बी’ मा ५३६ र महिला ब्लकमा ११० जना छन्। कैदीबन्दीलाई प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँका दरले गर्मी भत्ता वितरण गरिएको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार ब्लक ‘बी’ का कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ४० हजार रुपैयाँ वितरण भएको केही समयमै संकलन गरिएको आशंकापछि अनुसन्धान अघि बढाइएको हो। सोही घटनासँग सम्बन्धित आरोपका आधारमा गिरीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
पक्राउपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै गिरीलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको छ। उनले छाती दुखेको गुनासो गरेपछि चिकित्सकीय निगरानीमा राखिएको प्रहरीले जनाएको छ।
यसैबीच, अनुसन्धानका लागि कारागारका चौकीदारलाई बाहिर लैजाने क्रममा पनि केही कैदीबन्दीले विरोध जनाएका थिए। यस घटनापछि कारागार परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने आर्थिक अनियमितताको विषयमा प्रहरीले विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।