महाधिवेशनबाट राप्रपालाई थप सशक्त बनाइने : अध्यक्ष लिङ्देन

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ १८:५९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी महाधिवेशनलाई पार्टीको संगठन सुदृढीकरण र पुनर्संरचनाको महत्वपूर्ण अवसरका रूपमा उपयोग गरिने बताएका छन्।

शनिबार काठमाडौं जिल्ला समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीको संगठनात्मक अवस्था अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको स्वीकार गरे। यद्यपि, राप्रपाले उठाएका एजेन्डा जनतामाझ स्थापित हुँदै गएको र आफूले नेतृत्व सम्हालेपछि पार्टीको जनमतमा उल्लेखनीय वृद्धि भएको उनको दाबी थियो।

उनले महाधिवेशनमार्फत नयाँ सोच, प्रभावकारी कार्यशैली र स्पष्ट योजनासहित पार्टीलाई अझ बलियो र व्यवस्थित बनाइने बताए।

अध्यक्ष लिङ्देनले राप्रपाले उठाउँदै आएको राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई निरन्तर अघि बढाइने उल्लेख गर्दै ती एजेन्डाप्रति जनसमर्थन बढ्दै गएको दाबी गरे।

साथै, उनले कार्यकर्तालाई संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा पार्टीका नीति र एजेन्डा प्रभावकारी रूपमा जनतामाझ पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।