उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मोना कप बेल्जियम–२०२६ मा एनईएससी अस्ट्रियाको सहभागिता

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ १८:३६

अष्ट्रिया / युरोपभर रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यले आयोजना गरिएको मोना कप बेल्जियम–२०२६ मा नेपाल युरोपियन स्पोर्ट्स क्लब अस्ट्रिया (एनईएससी अस्ट्रिया)ले सहभागिता जनाएको छ । जुन २८ मा हुने प्रतियोगिताका लागि क्लबको टोली पूर्ण तयारीका साथ बेल्जियम पुगेको जनाएको छ।

क्लबका अनुसार टोलीका खेलाडीहरू जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने भए पनि उनीहरूको प्राथमिकता अनुशासन, समर्पण, खेल भावना र सामूहिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नु रहेको छ । प्रतियोगितामा सहभागितामार्फत अस्ट्रियामा रहेका नेपाली समुदायसँगै समग्र युरोपेली नेपाली समाजको पहिचान र प्रतिष्ठालाई थप उचाइमा पुर्‍याउने विश्वास क्लबले व्यक्त गरेको छ ।

एनईएससी अस्ट्रिया सानो समूहबाट सुरु भएर आज युरोपभर परिचित नेपाली खेलकुद संस्थाका रूपमा स्थापित भएको क्लबको भनाइ छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै नयाँ खेलाडीलाई अवसर सिर्जना गर्नुका साथै नेपाली समुदायबीच भाइचारा, सहकार्य र एकताको सन्देश प्रवाह गर्दै आएको क्लबले जनाएको छ । नियमित अभ्यास, कठिन परिश्रम र चुनौतीपूर्ण यात्राले टोलीलाई अझ सशक्त र प्रतिस्पर्धी बनाएको विश्वास क्लबको छ ।

मोना कप केवल खेलकुद प्रतियोगिता नभई युरोपमा रहेका नेपालीहरूबीच मित्रता, सहकार्य र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने साझा मञ्चका रूपमा स्थापित हुँदै गएको आयोजक तथा सहभागीहरूको विश्वास छ । बेल्जियमको मैदानमा उत्रिने एनईएससी अस्ट्रियाले आफ्नो क्लब मात्र नभई सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्ने जिम्मेवारीका साथ प्रतिस्पर्धा गर्ने जनाएको छ ।

एनईएससी अस्ट्रियाका अध्यक्ष दिलकुमार घमालले मोना कपमा सहभागिता क्लबका लागि मात्र नभई युरोपमा रहेका सम्पूर्ण नेपाली समुदायका लागि गौरवको विषय भएको बताए ।

‘मोना कप हाम्रो लागि केवल उपाधि जित्ने प्रतियोगिता होइन, नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई अझ मजबुत बनाउने अवसर पनि हो,’ अध्यक्ष घमालले भने, ‘हाम्रा खेलाडीहरूले लामो समयदेखि मेहनतका साथ तयारी गरेका छन् । हामी अनुशासित, जिम्मेवार र उत्कृष्ट प्रदर्शनमार्फत क्लबको मात्र होइन, सम्पूर्ण नेपाली समुदायको सम्मान उच्च राख्ने विश्वासमा छौं । जित वा हार खेलको स्वाभाविक पक्ष हो, तर हाम्रो लक्ष्य नेपालीको पहिचान, एकता र खेल संस्कृतिलाई युरोपभर थप सशक्त बनाउनु हो ।’

उनले खेलकुदले नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्ने प्रभावकारी माध्यमका रूपमा काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि युवा प्रतिभालाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउने र नेपाली समुदायलाई खेलमार्फत जोड्ने अभियानलाई निरन्तरता दिइने बताए ।

एनईएससी अध्यक्ष घमालले यसपटक मोना कपमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबको प्रतिष्ठा र नेपाली समुदायको गौरवलाई थप उचाइमा पुर्‍याउने लक्ष्य लिएको जनाएका छन् ।
एनईएससीले यसअघि पनि युरोपका विभिन्न मुलुकमा पुगेर उत्कृष्ट प्रतिस्पर्धा गरेको थियो ।