विराटनगर महानगरद्वारा कृषकलाई अनुदानमा च्याप कटर, काउम्याट र स्प्रे मेसिन वितरण

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ २१:२०

विराटनगर / कृषि उत्पादन वृद्धि तथा पशुपालन व्यवसायलाई थप व्यावसायिक, आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित विराटनगर महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाले आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत अनुदानमा कृषि उपकरण वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

शाखाले ७५ प्रतिशत अनुदानमा २० थान च्याप कटर र ४८ थान काउम्याट तथा ५० प्रतिशत अनुदानमा ७० थान स्प्रे मेसिन कृषकलाई वितरण गरेको हो । कृषि तथा पशुपालन व्यवसायमा यान्त्रिकीकरण विस्तार गर्दै उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित उपकरण वितरण गरिएको शाखाले जनाएको छ ।

वितरण कार्यक्रममा आर्थिक विकास समिति संयोजक श्याम घिमिरे तथा कृषि तथा पशुपन्छी विकास शाखा संयोजक हिरालाल यादवको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममार्फत छनोट भएका कृषक तथा पशुपालकलाई आवश्यक कृषि उपकरण हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक घिमिरेले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा उत्पादन र आम्दानी दुवैमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे । उनले अनुदानमा प्राप्त सामग्रीको सदुपयोग गर्दै व्यावसायिक कृषि र पशुपालनलाई थप प्रभावकारी बनाउन कृषकलाई आग्रह गरे ।

त्यसैगरी शाखा संयोजक यादवले स्थानीय तहले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर विभिन्न अनुदानमुखी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । कृषकको वास्तविक आवश्यकतालाई मध्यनजर गर्दै यस्ता कार्यक्रम आगामी वर्षहरूमा समेत निरन्तर सञ्चालन गरिने उनले बताए ।

स्थानीय कृषकहरूले अनुदानमा प्राप्त उपकरणले घाँस काट्ने, पशुपालन व्यवस्थापन गर्ने तथा बाली संरक्षणका कार्यलाई सहज बनाउने विश्वास व्यक्त गरेका छन् । उनीहरूले आधुनिक कृषि उपकरणको प्रयोगले श्रम, समय र उत्पादन लागत घट्दै कृषि व्यवसाय थप प्रतिस्पर्धी बन्ने अपेक्षा गरेका छन् ।