कांग्रेसभित्र संवाद पुनःस्थापनाको पहल : महानगर सभापतिहरूद्वारा डा. शेखर कोइरालासँग छलफल

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ २१:०८

विराटनगर / नेपाली कांग्रेसभित्र देखिएको शीर्ष तहको संवादहीनता अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउन महानगर समितिका सभापतिहरूले नेता डा. शेखर कोइरालासँग छलफल गरेका छन् ।

शनिबार साँझ विराटनगरस्थित कोइराला निवासमा भएको भेटवार्तामा विराटनगर, काठमाडौं, ललितपुर र वीरगञ्ज महानगर समितिका सभापतिहरूले पार्टीभित्र पछिल्लो समय विकसित राजनीतिक अवस्था, शीर्ष नेतृत्वबीचको दूरी र त्यसले संगठनमा पारेको प्रभावबारे विस्तृत छलफल गरेका हुन् ।

छलफलका क्रममा काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्यले शीर्ष नेतृत्वबीचको संवाद अभावले पार्टी कमजोर बन्ने जोखिम बढेको उल्लेख गर्दै सबै पक्षलाई सहमतिका साथ अघि बढ्न आग्रह गरेका थिए । उनका अनुसार नेतृत्वबीचको एकता र नियमित संवादले मात्र संगठनलाई बलियो बनाउन सक्छ ।

जवाफमा डा. शेखर कोइरालाले पार्टीको एकता कायम गर्न आफू सदैव सकारात्मक रहेको स्पष्ट पारे । उनले पार्टीलाई एकताबद्ध बनाउने प्राथमिक जिम्मेवारी सभापतिको हुने उल्लेख गर्दै आफूले आवश्यक संवाद, छलफल र सहजीकरणमा कुनै कमी नराख्ने बताए ।

‘नेपाली लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको भूमिका थप सुदृढ बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्दिनँ,’ उनले भने, ‘तर त्यसका लागि नेतृत्व तहबीच संवादको वातावरण बन्न आवश्यक छ र त्यसमा तपाईंहरूजस्ता साथीहरूको समन्वयकारी भूमिका महत्वपूर्ण हुन्छ ।’

डा. कोइरालाले पछिल्ला करिब दुई महिनायता पार्टीका शीर्ष नेताहरूसँग आफ्नो कुनै औपचारिक संवाद नभएको पनि बताए । उनले नेतृत्वबीच पुनः संवाद सुरु हुन सके पार्टी एकताबद्ध हुने र त्यसले लोकतन्त्र तथा मुलुक दुवैलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले पनि पार्टीभित्र देखिएको मतभिन्नता अन्त्य गर्न शीर्ष नेतृत्वले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए । उनले महानगर सभापतिहरूको टोलीले यसअघि महामन्त्री गगन थापा तथा उपसभापति पूर्णबहादुर खड्कासँग समेत छलफल गरेको जानकारी दिए ।

चापागाईंका अनुसार छलफलका क्रममा महामन्त्री थापाले केही सीमित विषयमा अझै सहमति जुट्न बाँकी रहेको जानकारी दिएका थिए । उनका भनाइ उद्धृत गर्दै चापागाईंले भने, ‘एक–दुई वटा विषयमा मात्रै सहमति हुन बाँकी छ । आगामी १० देखि १२ दिनभित्र त्यसमा पनि सहमति जुट्ने अपेक्षा गरिएको छ।’

भेटवार्तामा वीरगञ्ज महानगर समितिका सभापति मनिन्द्रलाल श्रेष्ठ र ललितपुर महानगर समितिका सभापति शोभानन्द दुवाडीको पनि सहभागिता रहेको थियो ।

पार्टीभित्र देखिएको आन्तरिक मतभिन्नता समाधान र शीर्ष नेतृत्वबीच संवाद पुनःस्थापनाका लागि महानगर तहबाट सुरु भएको यो पहललाई कांग्रेसभित्र सकारात्मक सन्देशका रूपमा हेरिएको छ ।