Breaking Nepal

जिन्दगीको पहिलो बल हान्न मलाई बाबाले नै सिकाउनुभएको थियो ।
वि.सं. २०३६ साल (सन् १९७९) मा, म मात्र छ वर्षको हुँदा, १९७८ को विश्वकप फाइनलको पुनःप्रसारण बाबासँगै हेरेको थिएँ । त्यसयता १९९० र १९९४ का विश्वकपहरू पनि बाबासँगै बसेर हेर्ने सौभाग्य मिल्यो । उहाँ सधैं भन्नुहुन्थ्यो, ‘छोरा, यसपटक ब्राजिलले जित्नुपर्छ ।’
ब्राजिल विजयी हुँदा बाबा–छोरा खुसीले अँगालो मार्दै उफ्रिन्थ्यौं । हार्दा भने दुवैको मन एकैचोटि खिन्न हुन्थ्यो ।
पेले, जिको, सोक्रेटिसजस्ता महान् फुटबल खेलाडीहरूको कथा होस् वा नेपालका महेन्द्र पुलिस क्लब, भुटानको थिम्फु–११, भारतका मोहन बगान र इस्ट बेङ्गल क्लबका चर्चा—यी सबै बाबाबाटै सुन्दै, बुझ्दै फुटबलप्रतिको प्रेम बढ्दै गयो ।
नाचघरका जी.एम. नारायणगोपाल अंकल, गणेश रसिक, भूपी शेरचन, क्षेत्रप्रताप अधिकारी, वासु शशीलगायतका साहित्यकार र कलाकारहरू एकै ठाउँमा भेला भएर शहीद स्मारक लिग हेर्न जानुहुन्थ्यो । आरसीटी र एनआरटीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुन्थ्यो । मैदानमा रेडियो नेपालको प्रत्यक्ष टिप्पणी गर्दै पाण्डव सुनुवार अंकलले हात हल्लाउनुहुन्थ्यो, त्यो दृश्य आज पनि स्मृतिमा ताजै छ ।
फुटबल मात्र होइन, नेपालका अग्रज साहित्यकार, कलाकार र स्रष्टाहरूलाई चिन्ने अवसर पनि बाबाकै माध्यमबाट पाएँ । उहाँहरूप्रतिको माया, स्नेह र आशीर्वाद मेरो जीवनको अमूल्य सम्पत्ति बने ।
विश्वकप प्रत्येक चार वर्षमा आउँछ र बित्छ । हरेक चार वर्षमा कुनै न कुनै राष्ट्रले विश्वकपको उपाधि जित्छ ।
तर मेरा लागि मेरा बाबा सधैंका विजेता हुनुहुन्छ । उहाँ मेरो मन, मस्तिष्क र स्मृतिमा सदैव अमर हुनुहुन्छ ।
सधैं, सदाका लागि—बाबा ।
— कवि कृष्ण भूषण बल
अमेरिकाको ह्युस्टन, टेक्सासमा विश्वकपको प्रतिस्पर्धामा परिवारसहित लेखक साइभूषण लामा-


