भारतीय सवारीबाट अवैध असुली गरेको आरोपमा विराटनगरमा तीन जना पक्राउ

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ १९:३२

विराटनगर / भारतीय नम्बर प्लेटका सवारीसाधनका चालकलाई अनधिकृत रूपमा प्रभावमा पार्दै रकम असुल्ने गतिविधिमा संलग्न रहेको आरोपमा विराटनगरबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार दिउँसो विराटनगर–१६ स्थित पुरानो भन्सार कार्यालय परिसरअन्तर्गत २ नम्बर डाट अगाडिबाट संयुक्त सुरक्षा टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेम विराटनगर–१३ का ६३ वर्षीय सुरेश कर्ण, विराटनगर–१ का ४४ वर्षीय सञ्जय केवट तथा विराटनगर–१५ का ६७ वर्षीय नरेन्द्र थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरूले कुनै कानुनी अनुमति वा आधिकारिक जिम्मेवारीबिनै भारतीय सवारीसाधनको राजस्व प्रक्रिया आफूखुसी सञ्चालन गर्ने, बिल काटिदिने तथा चालकसँग रकमका लागि मोलमोलाइ गर्ने गरेको सूचना प्राप्त भएपछि निगरानी बढाइएको थियो।

प्रहरीका प्रवक्ता डिएसपी महेन्द्रकुमार मिश्रले भारतीय सवारीसाधन विराटनगर प्रवेश गर्दा पुरानो भन्सार परिसरस्थित यात्रु शाखामा आवश्यक राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै त्यसै प्रक्रियालाई आधार बनाएर केही व्यक्तिले चालकलाई अनावश्यक दबाब सिर्जना गरी आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

विशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध थप अनुसन्धान अघि बढाइएको जनाएको छ। उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।