Breaking Nepal

झापा / नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले मुलुकको आर्थिक पुनरुत्थान, लगानी विस्तार र रोजगारी सिर्जनालाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। राजनीतिक स्थायित्वलाई आर्थिक उपलब्धिसँग जोड्न नसकिए जनताले अपेक्षा गरेको परिणाम हासिल गर्न नसकिने उनको भनाइ छ।
बिर्तामोड उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वैद्यले निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा विश्वास गरेर अघि बढ्न सरकारलाई आग्रह गरे। आर्थिक गतिविधि सुस्ताइरहेका बेला लगानीमैत्री नीतिको कार्यान्वयन, निजी क्षेत्रसँग प्रभावकारी सहकार्य तथा उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन अपरिहार्य रहेको उनले उल्लेख गरे।
उनले सरकारको प्रमुख जिम्मेवारी अर्थतन्त्रलाई चलायमान बनाउनु, स्वदेशमा रोजगारीका अवसर विस्तार गर्नु र युवाको बढ्दो वैदेशिक पलायनलाई रोक्नु भएको बताए। त्यसका लागि उद्योग–व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा प्रशासनिक जटिलता हटाएर लगानीकर्तामैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
“व्यवसायीले पारदर्शी र जिम्मेवार ढंगले लगानी गर्न चाहेका छन्। तर त्यसका लागि व्यवसायमैत्री नीति, सहज प्रशासन र अनावश्यक अवरोधको अन्त्य आवश्यक छ,” वैद्यले भने।
उनका अनुसार मुलुकको आर्थिक गतिशीलता बढाउन विकास निर्माणका आयोजनामा पूँजीगत खर्च प्रभावकारी रूपमा परिचालन गर्नुका साथै सुशासन सुनिश्चित गर्दै निजी क्षेत्रप्रति विश्वासको वातावरण निर्माण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्षहरू कृष्णप्रसाद शर्मा, दिल सुन्दर श्रेष्ठ, नरेशलाल श्रेष्ठ, प्रवलजङ्ग पाण्डे तथा केन्द्रीय सदस्यहरू दीपक नेपाल, अर्जुनकुमार श्रेष्ठ र नवीन रिजालको उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, पूर्वअध्यक्ष वलराम कार्की र झापाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले समेत शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा संघले उद्यमशीलता र सञ्चार क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरेको थियो। सम्मानित व्यवसायीमध्ये चान मोहम्मद लामो समय वैदेशिक रोजगारीपछि स्वदेश फर्केर बिर्तामोडमा व्यवसाय सञ्चालन गर्दै रोजगारी सिर्जना गरेको योगदानका आधारमा सम्मानित भए। त्यस्तै, पुराना व्यवसायी उमाकान्त ढुङ्गेललाई पनि व्यवसायिक योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।
यसैगरी, वर्ष उत्कृष्ट सञ्चारकर्मीका रूपमा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी र पत्रकार अच्युत सुवेदीलाई नगदसहित सम्मान प्रदान गरिएको थियो।
कार्यक्रम सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत मन्तव्य व्यक्त गरेका थिए। अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा संघले उद्योगी–व्यवसायीको हित संरक्षण र निजी क्षेत्रको सशक्तीकरणका लागि निरन्तर काम गरेको उल्लेख गर्दै सम्पन्न गतिविधिको श्रव्यदृश्य प्रस्तुति पनि सार्वजनिक गरेका थिए।