इनरुवामा कोशी प्रदेशस्तरीय रात्रिकालीन भलिबलको रौनक, विजेतालाई डेढ लाख रुपैयाँ

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ २०:२१

इनरुवा / सुनसरीको इनरुवामा कोशी प्रदेशस्तरीय रात्रिकालीन खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता असार १८ देखि २१ गतेसम्म इनरुवास्थित मधेशा कभर्ड हलमा सञ्चालन हुने आयोजकले जनाएको छ।

शान्तिदीप नेपालको आयोजनामा हुने प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन तथा कोशी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभागीयसहित आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकको भनाइ छ।

आयोजित पत्रकार सम्मेलनमा शान्तिदीप नेपालका अध्यक्ष सुवास राईले प्रतियोगिताले प्रदेशमा भलिबल खेलको विकास, विस्तार र नयाँ प्रतिभाको पहिचानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल प्रहरी क्लबका साथै भोजपुर, सुनसरी, मोरङ, झापा, खोटाङ तथा आयोजकको तर्फबाट सुनसरी भलिबल ट्रेनिङ सेन्टर मधेशासहित आठ टोलीको सहभागिता रहनेछ।

आयोजकका अनुसार प्रतियोगिताको व्यवस्थापकीय तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताको विजेता टोलीले ट्रफी, प्रमाणपत्रसहित एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी, प्रमाणपत्रसहित एक लाख रुपैयाँ पुरस्कार हात पार्नेछ।

रात्रिकालीन वातावरणमा सञ्चालन हुने प्रतियोगिताले खेलप्रेमीलाई उच्चस्तरीय प्रतिस्पर्धाको रोमाञ्चक अनुभव दिलाउने अपेक्षा गरिएको छ। हजारौं दर्शकको उपस्थितिमा प्रतियोगिता भव्य रूपमा सम्पन्न हुने आयोजकको विश्वास छ। आयोजकका अनुसार प्रतियोगिताले प्रदेशमा भलिबलप्रतिको आकर्षण अझ बढाउँदै खेल संस्कृतिको प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।