Breaking Nepal

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने अभियान प्रभावकारी रूपमा अघि बढाइएको बताएका छन्।
हुलाक सेवा विभागद्वारा आयोजित ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’मा मन्त्री तिमिल्सिनाले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै समयअनुकूल आधुनिकीकरणमार्फत यसको दायरा विस्तार गरिरहेको बताए।
उनले राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्थाले सेवा प्रवाहलाई सहज, छरितो र विश्वसनीय बनाएको उल्लेख गरे। यसबाट नागरिकको समय, लागत र झन्झट घट्नुका साथै सरकारी सेवाप्रतिको विश्वास पनि बढेको उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रभावकारी बनाउन सार्वजनिक–निजी साझेदारी र सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताउँदै हुलाक सेवाको संस्थागत सुधारका लागि कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली अपरिहार्य रहेको धारणा राखे।
कार्यक्रममा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले विभागले हालसम्म सात सरकारी निकायसँग सहकार्य गरी विभिन्न सरकारी कागजात घरमै पुर्याउने सेवा सञ्चालन गरिसकेको जानकारी दिइन्। आगामी दिनमा यस सेवालाई अझ प्रभावकारी, व्यावसायिक र नागरिकमैत्री बनाइने उनले बताइन्।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले ‘घरघरमा हुलाक, मनमनमा हुलाक’ अभियानमार्फत नागरिक केन्द्रित सेवा विस्तार भइरहेको जानकारी दिँदै सरकारी कागजात घरमै पुग्न थालेपछि नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताइन्।
विभागका अनुसार सरकारको ‘सरकारी कुरियर सेवा’ अन्तर्गत राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य सामग्री तथा अन्य सरकारी कागजात सुरक्षित रूपमा घरदैलोमै पुर्याउने सेवाको दायरा क्रमशः विस्तार भइरहेको छ। साथै, देशभरका हुलाक कार्यालयलाई चरणबद्ध रूपमा ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्ने अभियान पनि अघि बढाइएको छ।