Breaking Nepal

काठमाडौं– स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच सहमति भएको छ।
काठमाडौंमा भएको भेटवार्तामा स्थानीय तहमा देखिएका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफलका क्रममा मुख्यमन्त्री यादवले स्थानीय तहका समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मधेश प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रिया व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी विभिन्न पालिकामा स्थलगत सहजीकरण र समन्वय गरिरहेको जानकारी दिइन्।
उनका अनुसार उक्त टोलीले पालिका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गर्दै स्थानीय तहका आवश्यकता, समस्या र चुनौतीबारे स्थलगत विवरण संकलन गरेको छ।
मन्त्री रावलले स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन मन्त्रालय आवश्यक पहलमा निरन्तर लागिरहेको बताउँदै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।
भेटवार्तामा मन्त्रालयका सचिव, सहसचिव तथा प्रतिनिधिसभा सदस्य रहोवर अन्सारीलगायतको उपस्थिति रहेको थियो।