Breaking Nepal

भोजपुर / राष्ट्रिय धान दिवसको अवसर पारेर भोजपुरस्थित एक निजी विद्यालयले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक अध्ययनबाट बाहिर निकाल्दै प्रत्यक्ष खेतमा धान रोपाइँ गराएर व्यवहारिक कृषि शिक्षा दिएको छ। विद्यालयको यो अभ्यासले विद्यार्थीमा कृषि ज्ञानसँगै श्रमको सम्मान र स्थानीय उत्पादनप्रतिको बुझाइ विकास गर्न सहयोग पुगेको जनाएको छ।
भोजपुर नगरपालिका–७ स्थित भोजपुर एकेडेमीले कक्षा ७ देखि १० सम्म अध्ययनरत ८४ जना विद्यार्थी र शिक्षकको टोलीलाई वडा नं. ५ छिन्तापुस्थित स्थानीय कृषक भरत प्रधानको खेतमा लगेर धान रोपाइँमा सहभागी गराएको हो।
विद्यालयका प्राचार्य कमलप्रसाद राईका अनुसार विद्यार्थीले कक्षाकोठामा ‘नेपाल कृषि प्रधान देश हो’ भन्ने विषय पढे पनि वास्तविक खेती प्रणाली, किसानको श्रम र कृषि उत्पादन प्रक्रियाबारे प्रत्यक्ष अनुभव गर्ने अवसर कम पाउने भएकाले यस्तो कार्यक्रम सञ्चालन गरिएको हो।
उनले विद्यालयले सैद्धान्तिक शिक्षालाई व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्यअनुसार कृषि गतिविधिमा विद्यार्थीलाई सहभागी गराएको बताए। उनका अनुसार यस्तो अभ्यासले पाठ्यपुस्तकमा सीमित ज्ञानलाई जीवनोपयोगी सीपमा रूपान्तरण गर्न मद्दत पुग्छ।
कार्यक्रममा सहभागी विद्यार्थीले बीउ उखेल्ने, खेत हिल्याउने, बाउसे गर्ने तथा धान रोप्ने प्रक्रियाको प्रत्यक्ष अभ्यास गरेका थिए। उनीहरूलाई खेतीपातीमा प्रयोग हुने विभिन्न कृषि औजारबारे समेत जानकारी गराइएको विद्यालयका शैक्षिक संयोजक नवीन सुवेदीले जानकारी दिए।
कक्षा ८ की विद्यार्थी डोल्मा श्री तामाङले पुस्तकमा पढेको विषयलाई खेतमै अभ्यास गर्न पाउँदा कृषि सम्बन्धी व्यवहारिक ज्ञान र सीप दुवै हासिल भएको बताइन्। कक्षा १० का विद्यार्थी समिर खड्काले कक्षाकोठाभन्दा फरक अनुभव प्राप्त भएको उल्लेख गर्दै किसानको श्रमलाई नजिकबाट बुझ्ने अवसर मिलेको बताए।
यस्तै, कक्षा ७ की विद्यार्थी प्रेसिका प्रधानले फिल्डमा गएर सिकाइ गर्दा विषयवस्तु अझ प्रभावकारी रूपमा बुझ्न सकिने अनुभव भएको प्रतिक्रिया दिइन्।
विद्यालयका सहायक प्राचार्य कुमार भण्डारीले विद्यार्थीमा कृषिप्रति सकारात्मक दृष्टिकोण विकास गर्नुका साथै किसान र कृषि पेशाप्रति सम्मानको भावना जगाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार व्यवहारिक गतिविधिमा विद्यार्थीलाई सहभागी गराउँदा उनीहरूको सिकाइ दिगो र प्रभावकारी बन्ने गरेको छ।
कार्यक्रममा धान रोपाइँसँगै असार १५ को सांस्कृतिक परम्पराअनुसार विद्यार्थीलाई दही–चिउरा खुवाइएको थियो। सहायक प्राचार्य सञ्चेय रम्तेलले आगामी दिनमा पनि यस्ता व्यवहारिक तथा अतिरिक्त शैक्षिक गतिविधिलाई निरन्तरता दिइने जानकारी दिए।
शिक्षिका बिनिता भुजेलले सानैदेखि व्यवहारिक शिक्षा प्रदान गर्न सके विद्यार्थीको सिकाइ क्षमता, आत्मविश्वास र सामाजिक बुझाइ अझ सुदृढ हुने धारणा व्यक्त गरिन्।
यसैबीच, भोजपुरमा हालसम्म करिब ६८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ। निरन्तर वर्षा भइरहेकाले जिल्लाभर रोपाइँको गति थप तीव्र बन्दै गएको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।