Breaking Nepal

काठमाडौं– सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट एक ५ वर्षीया बालिका र बसका सहचालकको ज्यान गएको छ।
प्रहरीका अनुसार पायोनियर एजुकेसन एकेडेमीको को १ ख ३५९९ नम्बरको बसले किच्दा सहचालक लहान नगरपालिका–२२ निवासी २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया समीक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको हो।
समीक्षा सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन घर भई हाल मावलीको घर लक्ष्मीपुरपतारी–२ पर्सामा बस्दै आएकी थिइन्।
बुधबार अपराह्न विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कने क्रममा बालिकालाई बसबाट झार्ने बेला बस अगाडि बढ्दा पछाडिको चक्काले बालिका र सहचालकलाई किचेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय महेशपुरपतारको नियन्त्रणमा रहेको छ। फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।