Breaking Nepal

काठमाडौँ । स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। नकआउट चरणअन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा स्विट्जरल्यान्डले खेलभर प्रभावशाली प्रदर्शन गर्दै सहज जित हात पारेको हो।
स्विट्जरल्यान्डले खेलको १०औँ मिनेटमै अग्रता बनाएको थियो। जे डब्लू मान्जाम्बीको उत्कृष्ट पासमा ब्रिल एम्बोलोले गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाए। पहिलो हाफ १–० मा सकिएको खेलको दोस्रो हाफ सुरु भएको एक मिनेट नबित्दै डान न्डोएले गोल थपेपछि स्विट्जरल्यान्डले अग्रता दोब्बर बनायो।
दोस्रो गोलपछि स्विट्जरल्यान्डले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्दै थप गोलका अवसर सिर्जना गरेको थियो। एम्बोलो व्यक्तिगत दोस्रो गोल गर्न नजिक पुगे पनि उनको प्रहार पोस्टमाथिबाट बाहिरियो। त्यसलगत्तै फाबियन रिडरले पनि सुनौलो अवसर सदुपयोग गर्न सकेनन्। पोलअगाडि प्राप्त लो–क्रसमा उनको प्रहार अल्जेरियाका गोलकिपर लुका जिदानले रोकेपछि स्कोर २–० मै सीमित रह्यो।
अल्जेरियाले पहिलो हाफमा केही अवसर सिर्जना गरे पनि आक्रमणलाई गोलमा रूपान्तरण गर्न नसक्दा दबाबमा रह्यो। दोस्रो हाफको सुरुमै गोल खाएपछि टोली खेलमा फर्किन सकेन र प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो।
यस जितसँगै स्विट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनाएको छ। अब स्विट्जरल्यान्डले क्वार्टरफाइनल प्रवेशका लागि कोलम्बिया वा घानामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।