Breaking Nepal

विराटनगर / नर्सिङ शिक्षालाई प्रविधिमैत्री, सीपमा आधारित र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने उद्देश्यसहित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक पूर्वाधारयुक्त ‘नर्सिङ विद्यालय’ सञ्चालनमा ल्याएको छ । कलेजले नेपालमै पहिलोपटक स्नातक तहको नर्सिङ तथा अन्य नर्सिङ कार्यक्रमका लागि छुट्टै समर्पित पूर्वाधारसहितको नर्सिङ विद्यालय सञ्चालनमा ल्याएको जनाएको छ ।
हस्पिटलको पाँचौँ तल्लामा करिब १९ हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको नर्सिङ विद्यालयको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्की र संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले संयुक्त रूपमा गरेका हुन् ।

संस्थापक अध्यक्ष कार्कीका अनुसार नर्सिङ शिक्षालाई व्यवहारिक, गुणस्तरीय र विश्वस्तरीय बनाउने लक्ष्यका साथ अत्याधुनिक सुविधासम्पन्न नर्सिङ विद्यालय स्थापना गरिएको हो । यसअघि पनि नर्सिङ कार्यक्रम सञ्चालनमा रहेकामा अहिले भने आधुनिक भौतिक पूर्वाधार र प्रविधिसहित नयाँ स्वरूपमा विस्तार गरिएको कलेजका प्राचार्य प्रा. डा. सन्तोष उपाध्याय काफ्लेले जानकारी दिए ।
कलेजका अनुसार विद्यालयमा आधारभूत नर्सिङ सीप प्रयोगशाला, प्रसूति तथा मातृ स्वास्थ्य नर्सिङ सीप प्रयोगशाला, बाल स्वास्थ्य सीप प्रयोगशाला, सामुदायिक स्वास्थ्य नर्सिङ प्रयोगशाला तथा पोषण एवं आहार विज्ञान प्रयोगशालालगायतका विश्वस्तरीय प्रयोगशाला स्थापना गरिएका छन्। साथै अत्याधुनिक प्रविधियुक्त कक्षाकोठा र प्रशिक्षण केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ ।
विद्यार्थीले वास्तविक अस्पतालको वातावरणमै आधारित सिकाइ अनुभव प्राप्त गर्न सकून् भन्ने उद्देश्यले शल्यक्रिया कक्ष, नवजात शिशु सघन उपचार कक्ष, प्रसूति कक्ष तथा सघन उपचार कक्षको वातावरणलाई अनुकरण गर्ने सिमुलेसनमा आधारित शिक्षण प्रणाली विकास गरिएको कलेजले जनाएको छ । यसबाट विद्यार्थीले वास्तविक बिरामीको उपचारमा संलग्न हुनुअघि आवश्यक उपचार प्रक्रिया र चिकित्सकीय सीपको अभ्यास गर्ने अवसर पाउनेछन् ।
कलेजका अनुसार चिकित्सकीय सीप तालिम, सिमुलेसनमा आधारित अभ्यास, नर्सिङ प्रक्रिया, सघन उपचार अभ्यास, सामुदायिक स्वास्थ्य सेवा तथा डिजिटल सिकाइ स्रोतजस्ता सुविधाले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक दक्षता हासिल गर्न सहयोग पुग्नेछ ।
नर्सिङ विद्यालयका कार्यक्रम संयोजक सहप्राध्यापक इन्दु साहले विद्यालय सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार र शैक्षिक सुविधा उपलब्ध गराइएको बताइन् । उनका अनुसार नयाँ प्रणालीले विद्यार्थीमा आवश्यक सीप, आत्मविश्वास र व्यावसायिक क्षमता विकास गर्न सहयोग पुर्याउनेछ ।
कलेजले अत्याधुनिक नर्सिङ विद्यालय सञ्चालनसँगै दक्ष, सक्षम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिन सक्ने नर्सिङ जनशक्ति उत्पादन हुनुका साथै अस्पताल सेवाको गुणस्तरसमेत थप सुदृढ हुने अपेक्षा गरेको छ ।