Breaking Nepal

विराटनगर / नयाँ लायन्स वर्षको शुभारम्भलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विराटनगरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब अफ विराटनगर सेन्ट्रलको आयोजना तथा न्यूरो कार्डियो तथा बहुविशेषज्ञ अस्पतालको सहकार्यमा सम्पन्न कार्यक्रममा ५० जनाभन्दा बढीले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् ।
अस्पताल परिसरमा आयोजित कार्यक्रममा विभिन्न पेशा, व्यवसाय र समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । स्वेच्छिक रक्तदाताले रक्तदानमार्फत उपचाररत तथा रगत अभावमा रहेका बिरामीको जीवन बचाउन योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा अस्पतालका सञ्चालन निर्देशक राजेश भट्टराई, लायन्स क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष डा. मञ्जिल श्रेष्ठ, क्लबका पदाधिकारी तथा सदस्य, स्वास्थ्यकर्मी, समाजसेवी र स्थानीयवासीको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. श्रेष्ठले रक्तदानलाई जीवन बचाउने सबैभन्दा ठूलो मानवीय सेवामध्ये एक भएको उल्लेख गरे । नयाँ लायन्स वर्षको सुरुवात यस्ता सामाजिक तथा मानवीय अभियानबाट गर्न पाउनु गौरवको विषय भएको बताउँदै उनले संकलित रगतले उपचाररत बिरामी तथा रगतको अभाव झेलिरहेका नागरिकको जीवन रक्षा गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको समापनमा अध्यक्ष श्रेष्ठले रक्तदानमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गरे । रक्तदान गर्ने सबैलाई उनीहरूको योगदानको कदरस्वरूप अस्पताल तथा लायन्स क्लबका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो ।
आयोजकका अनुसार विराटनगरमा पछिल्ला दिनमा रगतको माग निरन्तर बढिरहेको अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम आयोजना गरिएको हो । यस्ता अभियानले स्वेच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायमा मानवीय सेवाको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।