रूपन्देही जिल्ला अदालतमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट, ३५ सय बढी बाँकी

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ १५:४९

भैरहवा। जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार १०९ मुद्दा फर्छ्यौट गरेको छ। अदालतले असार १७ गतेसम्मको प्रगति विवरण सार्वजनिक गर्दै कुल मुद्दामध्ये करिब आधा मुद्दाको टुंगो लागेको जनाएको हो।

अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका र चालु वर्षमा दर्ता भएका गरी कुल ७ हजार ६४२ मुद्दा दर्ता भएका थिए। तीमध्ये ४ हजार १०९ मुद्दा फर्छ्यौट भइसकेका छन् भने ३ हजार ५३३ मुद्दा अझै विचाराधीन अवस्थामा रहेका छन्।

जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतले बढ्दो मुद्दाको चापका बीच उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै छिटो, छरितो, पारदर्शी र प्रभावकारी रूपमा न्याय सम्पादन भइरहेको बताए।

वरिष्ठ जिल्ला न्यायाधीश धनिश्वर पौडेलका अनुसार संस्थागत सुधार कार्यक्रमलाई निरन्तरता दिँदै न्याय प्रणालीलाई थप सेवामुखी, प्रभावकारी र विश्वसनीय बनाउने प्रयास भइरहेको छ।

त्यसैगरी अदालतका श्रेस्तेदार विमल रेग्मीले सूचना प्रविधिमा आधारित प्रणाली विस्तार गर्दै मुद्दा व्यवस्थापन, अभिलेखीकरण र सेवा प्रवाहलाई सरलीकृत गरिएको जानकारी दिए। उनका अनुसार डिजिटल प्रणालीको प्रयोगले न्याय सम्पादनलाई अझ चुस्त, दुरुस्त र परिणाममुखी बनाउँदै वार्षिक लक्ष्य हासिल गर्ने दिशामा अदालत अघि बढेको छ।