संवैधानिक परिषद् बैठक बस्दै, दर्जनभन्दा बढी रिक्त पदमा सिफारिसको तयारी

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ १४:३५

काठमाडौं। संवैधानिक निकायमा लामो समयदेखि रिक्त रहेका पदहरूको सिफारिस प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ५ बजेका लागि बैठक बोलाइएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बस्ने बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि नाम सिफारिस गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहने जनाइएको छ। प्रमुख प्रतिपक्ष दलका प्रतिनिधि भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा रिक्त पदपूर्तिसम्बन्धी छलफल केन्द्रित हुनेछ।

हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय मानव अधिकार आयोगमा एक सदस्य, मुस्लिम आयोगमा अध्यक्षसहित दुई तथा राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन्।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य, थारू आयोगमा अध्यक्षसहित दुई, मधेसी आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन तथा राष्ट्रिय महिला आयोगमा एक सदस्य पद खाली रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार परिषद्ले रिक्त पदका लागि योग्य उम्मेदवारको नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने प्रावधान छ। बैठकले लामो समयदेखि रोकिएको नियुक्ति प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।