कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्रीको आकस्मिक अनुगमन, पूर्ण डिजिटल प्रणाली लागू—२८ प्रतिशत कर्मचारी कटौती प्रस्ताव

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ १५:३३

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा आकस्मिक अनुगमन तथा निरीक्षण गरेकी छिन्। मन्त्रालयका सचिवसहितको उच्चस्तरीय टोलीसहित बिहानै कार्यालय पुगेकी मन्त्री यादवले सेवा प्रवाह, प्रविधि प्रयोग र प्रशासनिक सुधारबारे विस्तृत जानकारी लिएकी हुन्।

निरीक्षणका क्रममा कम्पनी रजिष्ट्रार कार्यालयकी प्रमुख कृष्णकुमारी श्रेष्ठले पछिल्लो एक महिनामा गरिएको सुधार तथा डिजिटल प्रणाली कार्यान्वयनबारे मन्त्रीलाई जानकारी गराएकी थिइन्। उनका अनुसार शासकीय सुधारसम्बन्धी प्रतिवेदनको बुँदा नम्बर ५८ अनुसार सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाइएको छ।

नयाँ व्यवस्थाअनुसार कम्पनी दर्ता प्रक्रिया अब अनलाइनमार्फत घरबाटै पूरा गर्न सकिने व्यवस्था लागू गरिएको छ। यसअघि कार्यालय धाउनुपर्ने बाध्यता हटाइएको र सम्पूर्ण प्रक्रिया डिजिटल प्रणालीबाट सम्पन्न हुने कार्यालयले जनाएको छ।

त्यसैगरी, कम्पनी दर्तापछि स्थायी लेखा नम्बर (PAN) लिन आन्तरिक राजस्व कार्यालय जानुपर्ने व्यवस्था पनि हटाइएको छ। एकीकृत डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई सहज, छिटो र कम खर्चिलो बनाइएको दाबी गरिएको छ।

सेवाग्राहीको गुनासो समाधानका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित कल सेन्टर समेत सञ्चालनमा ल्याइएको छ। यस प्रणालीमार्फत २४ सै घण्टा कम्पनी दर्ता तथा अन्य सेवासम्बन्धी जानकारी उपलब्ध हुने व्यवस्था गरिएको छ।

अनुगमनका क्रममा मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको अवलोकन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन प्रविधिको अधिकतम उपयोग गर्न निर्देशन दिइन्। साथै, सर्वसाधारणले कुनै पनि प्रकारको झन्झट व्यहोर्नु नपर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरिन्।

डिजिटल प्रणाली विस्तारसँगै जनशक्ति संरचनामा समेत पुनरावलोकन गरिएको छ। कार्यालयले हालको प्रविधि क्षमताका आधारमा २८ प्रतिशत कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग मन्त्रालयमा पेश गरेको छ। प्रविधिको उच्च उपयोगमार्फत कम जनशक्तिबाट बढी सेवा प्रवाह सम्भव भएको निष्कर्ष कार्यालयको छ।

उक्त अनुगमनमा उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोलीको सहभागिता रहेको थियो। मन्त्री र सचिवसहितको टोलीलाई कार्यालय प्रमुख श्रेष्ठले सम्पूर्ण सेवा कक्ष तथा डिजिटल प्रणालीको कार्यान्वयन अवस्थाबारे स्थलगत अवलोकन गराएकी थिइन्।