Breaking Nepal

काठमाडौं– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–खोला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।