Breaking Nepal

सिरहा / सिरहाका विभिन्न सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा निगरानी कडा बनाउँदै भन्सार छल गरेर ओसारपसार भइरहेका करिब ११ लाख १० हजार ४२५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वार्टर सिरहाले शुक्रबार जिल्लाका विभिन्न सीमा नाकामा सञ्चालन गरेको गस्ती तथा विशेष निगरानीका क्रममा भन्सार छलेर नेपाल भित्र्याइँदै गरेका तथा भारततर्फ लैजाँदै गरिएका मोटरसाइकल, किराना सामग्री र मदिरा नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार बरामद गरिएका मोटरसाइकल, किराना सामग्री र मदिराको अनुमानित मूल्य ११ लाख १० हजार ४२५ रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
एसपी थापाले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा भन्सार छलि नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती, निगरानी र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएको बताए। उनले यस्ता अवैध गतिविधिविरुद्ध अभियान निरन्तर जारी रहने उल्लेख गर्दै सीमाको सुरक्षा र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी प्रतिबद्ध रहेको बताए।