Breaking Nepal

विराटनगर / मोरङको लेटाङ नगरपालिका क्षेत्रमा अनटेस्ट सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कानेपोखरीबाट लेटाङ बजारतर्फ आउँदै गरेको अनटेस्ट सिटी सफारी लेटाङ–४ स्थित फारलाइन क्षेत्रमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा परी लेटाङ–४ सिद्धार्थ लाइन निवासी अन्दाजी ६० वर्षीया सञ्चमाया लावती गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते लावतीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।
दुर्घटनामा सिटी सफारीमा सवार अन्य तीन जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिटी सफारी चालक लेटाङ–४ निवासी ३७ वर्षीय वीरबहादुर राई पनि सामान्य घाइते भएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार सवारी साधन अनियन्त्रित भएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनाको विस्तृत कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।