Breaking Nepal

विराटनगर / गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढीकरण, अवैध कारोबार नियन्त्रण र सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय अपरिहार्य रहेको बताएका छन् ।
शनिबार विराटनगर आइपुगेका गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय, नेपाल–भारत सीमा नाका रानी तथा एकीकृत जाँचचौकी (आईसीपी)को अनुगमन गर्दै सेवा प्रवाह र सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन निरीक्षणका क्रममा उनले प्रशासनको स्वामित्वमा रहेको पर्याप्त जग्गाको उपयोग गर्दै एउटै परिसरबाट एकीकृत सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । सेवाग्राहीले एकद्वार प्रणालीमार्फत सहज र झन्झटमुक्त सेवा पाउने गरी कार्यस्थल व्यवस्थापन गर्न उनले निर्देशन दिए ।
रानीस्थित आईसीपीमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले खुला सीमाका कारण हुने अवैध कारोबार नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीका लागि व्यवस्थित आवास, पर्याप्त जनशक्ति तथा निगरानी प्रविधि विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
सीसीटीभीलगायत आधुनिक निगरानी प्रणाली विस्तारलाई आगामी बजेट कार्यान्वयनसँगै प्राथमिकतामा राखिने उल्लेख गर्दै उनले अवैध कारोबार नियन्त्रणबाट राजस्व वृद्धि भई राष्ट्रिय अर्थतन्त्रलाई समेत सकारात्मक टेवा पुग्ने बताए ।
सरकार तस्करी, गुण्डागर्दी र गैरकानुनी गतिविधिविरुद्ध कठोर रहेको उल्लेख गर्दै उनले सुशासनको अनुभूति नागरिकले प्रत्यक्ष रूपमा गर्न सक्ने वातावरण निर्माणमा गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
मोरङका विभिन्न सरकारी निकायको निरीक्षण तथा आवश्यक निर्देशन दिएपछि गृहमन्त्री गुरुङ शनिबार साँझ सुनसरीको धरानतर्फ प्रस्थान गरेका छन् ।