९ वर्षपछि फेरि ‘ध्रुवे’को आतंक : चितवनमा आमा–छोराको ज्यान गयो, मृतक संख्या २५ पुग्यो

Breaking Nepal

आइतबार ,असार २१ , २०८३ ११:२४

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आतंकको पर्याय बनेको भाले जंगली हात्ती ‘ध्रुवे’ले करिब नौ वर्षपछि फेरि मानवीय क्षति निम्त्याएको छ। शनिबार राति भरतपुर महानगरपालिका–२३ मा घरमै रहेका आमा–छोरामाथि आक्रमण गर्दा दुवैको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटे रहेका छन्। स्थानीयका अनुसार रातिको समयमा जंगलबाट बस्ती पसेको हात्तीले एक्कासि घरमा आक्रमण गरेको थियो।
घटनाका क्रममा हात्ती धपाउने प्रयासस्वरूप आशिकाका श्रीमानले आगो बाल्न खोज्दा घरमा आगलागी भई पूर्ण रूपमा क्षति पुगेको बताइएको छ।
भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार जंगली हात्तीको आक्रमणबाट आमा–छोराको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि हात्ती पुनः निकुञ्जको सुखीभार क्षेत्रमा फर्किएको जनाइएको छ।
निकुञ्ज आसपासका स्थानीयका अनुसार ‘ध्रुवे’ प्रायः सुखीभार क्षेत्रमा बसोबास गर्ने भए पनि बेलाबेलामा मेघौलीलगायत आसपासका बस्तीमा समेत पस्ने गरेको छ। यही कारण स्थानीयवासी वर्षौंदेखि त्रासमा जीवन बिताउन बाध्य छन्।
२०७४ सालमा नेपाली सेनाका एक मेजरमाथि आक्रमण गरी हत्या गरेपछि ‘ध्रुवे’बाट थप मानवीय क्षति भएको थिएन। तर पछिल्लो घटनासँगै यस हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।
घटनापछि निकुञ्ज प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रमा निगरानी बढाउनुका साथै स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। स्थानीयवासीले भने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी र दीर्घकालीन सुरक्षा उपाय तत्काल लागू गर्न माग गरेका छन्।