Breaking Nepal

महोत्तरी। बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ। यससँगै बर्दिबास महोत्तरीमा साक्षर घोषणा हुने चौथो स्थानीय तह बनेको छ।
शनिबार आयोजित कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापाले बर्दिबासलाई औपचारिक रूपमा साक्षर नगर घोषणा गरेका हुन्। विद्यालय जाने उमेर समूहबाहेक १५ देखि ६० वर्ष उमेर समूहका कम्तीमा ९५ प्रतिशत नागरिक साक्षर भएपछि स्थानीय तहलाई साक्षर घोषणा गर्ने मापदण्डअनुसार बर्दिबासले आवश्यक योग्यता पूरा गरेको हो।
नगर शिक्षा शाखाका प्रमुख रेवतीप्रसाद पराजुलीका अनुसार बर्दिबासको कुल जनसंख्या करिब ७५ हजार रहेको छ। त्यसमध्ये २५ हजार विद्यार्थी नगरभित्र रहेका ८० विद्यालयमा औपचारिक शिक्षामा आबद्ध छन्। १५ देखि ६० वर्ष उमेर समूहका ४६ हजार ५२६ जनामध्ये ४५ हजार ३३२ जनाले साक्षरताको मापदण्ड पूरा गरेका छन्। नगरपालिकाले साक्षरतासम्बन्धी सबै १२ सूचकसमेत पूरा गरेको जनाएको छ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख निर्मल घिमिरेका अनुसार महोत्तरीका स्थानीय तहले पछिल्लो समय साक्षरता अभियानलाई तीव्रता दिएका छन्। आर्थिक वर्ष २०८३/८४ भित्र जिल्लाका ६० प्रतिशत स्थानीय तहलाई साक्षर घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालन भइरहेको उनले बताए।
महोत्तरीमा हाल १० नगरपालिका र पाँच गाउँपालिका रहेका छन्। यसअघि मनराशिशवा, मटिहानी र जलेश्वर नगरपालिका साक्षर घोषणा भइसकेका छन् भने बर्दिबास चौथो स्थानीय तहका रूपमा साक्षर नगरको सूचीमा समावेश भएको छ।