राष्ट्रियसभा बैठक आज, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

Breaking Nepal

सोमबार ,असार २२ , २०८३ ०८:३४

काठमाडौं– सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १२:१५ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ।

आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

कार्यसूचीअनुसार युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेछन्।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेटबारे उठेका जिज्ञासाको पनि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ।

यसका साथै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिका प्रश्नको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।