Breaking Nepal

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार १७६ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन्। कारबाहीबाट १० लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकामध्ये ८१ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने, १०१ जना नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने, १५९ जना ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने तथा २०२ जना तीव्र गतिमा सवारी चलाउने चालक रहेका छन्।
त्यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक तथा फुटपाथमा अव्यवस्थित पार्किङ गर्ने ११०, एकतर्फी सडकमा सवारी चलाउने ६६ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २५५ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार दुर्घटना न्यूनीकरण, सवारी अनुशासन कायम गर्ने तथा सुरक्षित र व्यवस्थित यातायात प्रणाली विकास गर्ने उद्देश्यले उपत्यकाभर नियमित अनुगमन र निगरानीलाई तीव्र बनाइएको छ। नियम उल्लङ्घन गर्ने चालकविरुद्ध आगामी दिनमा पनि कारबाहीलाई निरन्तरता दिइने जनाइएको छ।