श्रीमती हत्या आरोपमा सात वर्षदेखि फरार प्रतिवादी सप्तरीबाट पक्राउ

Breaking Nepal

मंगलबार ,असार २३ , २०८३ ०८:१६

सप्तरी /  श्रीमतीको हत्या आरोपमा फरार रहेका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाइन नगरपालिका–४, सिल्हटका २५ वर्षीय रुन्जे सदाय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सदाय २०७६ पुस १७ गते राति आफ्नी श्रीमती गीता देवी सदायको हत्या गरेको आरोपमा घटनापछि फरार थिए । लामो समयदेखि फरार रहेका उनलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दम्पतीबीच छोरीको जन्मपछि भएको मृत्युको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । सोही विवादका क्रममा सदायले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

मृतकका बुवा सुकराती सदायको जाहेरीका आधारमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सदायविरुद्ध सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।