Breaking Nepal

काठमाडौं / आत्मदाहको प्रयासपछि वीर अस्पतालमा उपचाररत मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अझै अत्यन्त गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने चिकित्सकहरूको प्राथमिकता उनको स्वास्थ्य अवस्था स्थिर बनाउनु रहेको छ ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगलागीका कारण नेपालीको अनुहार, टाउको, घाँटीसहित शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुगेको छ । अस्पताल ल्याइएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।
उपचारका क्रममा एकपटक बिरामीको अवस्था अत्यन्तै जटिल बनेपछि कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) समेत गर्नुपरेको डा. दाहालले जानकारी दिए। औषधिको सहायताले अवस्था केही नियन्त्रणमा ल्याइए पनि बिरामीको स्वास्थ्य अझै अस्थिर रहेकाले बीच–बीचमा पुनः आकस्मिक उपचार आवश्यक पर्ने अवस्था रहेको उनले बताए ।
हाल नेपाली वीर अस्पतालको बर्न आईसीयूमा उपचाररत छन् ।
चिकित्सकहरूका अनुसार उनको स्वास्थ्यका अधिकांश सूचकहरू चिन्ताजनक रहेकाले आगामी केही दिन उपचारका दृष्टिले अत्यन्त संवेदनशील रहनेछन् ।
यसैबीच, थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने विषयमा सरकारी तहमा छलफल भए पनि स्वास्थ्य अवस्था अस्थिर रहेकाले तत्काल स्थानान्तरण सम्भव नभएको अस्पतालले जनाएको छ। गम्भीर अवस्थामा रहेका बिरामीलाई हवाईमार्गबाट विदेश लैजानुअघि स्वास्थ्य अवस्था स्थिर हुनुपर्ने चिकित्सकीय मापदण्ड रहेको अस्पतालको भनाइ छ। अन्यथा यात्राकै क्रममा थप जटिलता उत्पन्न हुन सक्ने जोखिम रहने चिकित्सकहरूले औंल्याएका छन् ।
नेपालीको उपचारमा डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको छ ।
गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनापछि तत्काल उद्धार गरी उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो। घटनाको कारण र पृष्ठभूमिबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।