आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

Breaking Nepal

शुक्रबार ,असार २६ , २०८३ १२:५५

काठमाडौं / काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार वीर अस्पतालमा उपचाररत नेपालीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। अस्पताल प्रशासनले औपचारिक विज्ञप्ति सार्वजनिक नगरे पनि उपचारमा संलग्न स्रोतले उनको निधन पुष्टि गरेको छ ।

बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीरको करिब ६० देखि ७० प्रतिशत भाग जलेको थियो । आगोले अनुहार, टाउको, घाँटीसहित शरीरका महत्वपूर्ण अंगमा गम्भीर क्षति पुर्‍याएको चिकित्सकहरूले बताएका छन् । अस्पताल ल्याइएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि उनलाई इन्टुबेसन गरी मेकानिकल भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

उनको उपचारका लागि वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली परिचालन गरिएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको हो ।

नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनालगत्तै स्थानीय, सुरक्षाकर्मी तथा उद्धार टोलीले उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याएका थिए ।

घटनापछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घटनाबारे सोधपुछ गर्न काठमाडौं महानगरपालिकाका तीन नगर प्रहरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आत्मदाह प्रयासको कारण तथा घटनाको सम्पूर्ण पृष्ठभूमिबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।