भानु जयन्तीका अवसरमा एभरेष्ट स्कुलमा कविता प्रतियोगिता र स्रष्टा सम्मान

Breaking Nepal

सोमबार ,असार २९ , २०८३ १६:०३

विराटनगर / आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले अन्तरकक्षा कविता वाचन प्रतियोगिता आयोजना गर्दै कवि रोहिणी रसिकलाई सम्मान गरेको छ ।

विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा कक्षा ११ र १२ का २४ विद्यार्थीले समसामयिक, सामाजिक तथा राष्ट्रिय विषयमा आधारित आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । प्रतियोगितामा उत्कृष्ट चार विद्यार्थीलाई नगदसहित ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगितामा ‘भानु हेर तिम्रो देश’ शीर्षकको कविता प्रस्तुत गर्दै कक्षा १२ की छात्रा सौमिका ढकाल प्रथम भइन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन् । ‘फर्कि आउ घर’ शीर्षकको कविता प्रस्तुत गरेका कक्षा १२ का प्रेम खतिवडा द्वितीय हुँदै सात हजार रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी ‘प्रकृतिको मौन पुकार’ शीर्षकको कविता प्रस्तुत गरेका कक्षा ११ का आरजन बराल तृतीय हुँदै पाँच हजार रुपैयाँ पुरस्कार पाए भने ‘मुकुन्डो र मुकुट’ शीर्षकको कविता वाचन गरेका कक्षा १२ का रियोज मास्के सान्त्वना स्थान हासिल गर्दै तीन हजार रुपैयाँसहित पुरस्कृत भए ।

प्रतियोगिताको निर्णायकमा कवयित्री निर्मला कोइराला र कवि एवं पत्रकार मीनकुमार नवोदित रहेका थिए । निर्णायकहरूले साहित्यिक गुणस्तर, सिर्जनात्मकता, प्रस्तुति शैली तथा समग्र प्रभावका आधारमा उत्कृष्ट प्रतिभा छनोट गरिएको बताएका थिए ।

प्रतियोगितामा प्रस्तुत कविताहरूमा देशप्रेम, प्रकृतिप्रेम, जलवायु परिवर्तन, जातीय विभेद, युवाको विदेश पलायन, भ्रष्टाचार, बलात्कार, जेन–जी पुस्ताको सोच तथा नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको आकर्षणजस्ता समसामयिक विषय प्रभावशाली रूपमा अभिव्यक्त भएका थिए । विद्यार्थीहरूको साहित्यिक चेत, सामाजिक संवेदनशीलता र सिर्जनशील क्षमताले नयाँ पुस्तामा साहित्यप्रतिको बढ्दो आकर्षण झल्काएको निर्णायक नवोदितको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रियसभाका पूर्व सदस्य खेम नेपालीले कविता समाज परिवर्तनको सशक्त माध्यम भएको उल्लेख गर्दै विद्यार्थीलाई सिर्जनात्मक यात्रामा निरन्तर लागिरहन प्रेरित गरे । उनले साहित्यले देशको संस्कृति, सभ्यता र इतिहासलाई जीवन्त राख्ने भएकाले नयाँ पुस्ताले त्यसको संरक्षण र प्रवर्द्धनमा अग्रसर हुनुपर्ने बताए ।

विद्यालयका प्राचार्य टीकाराम पुरीले पुस्तान्तरण र हस्तान्तरण प्रकृतिको स्वाभाविक प्रक्रिया भए पनि त्यसका नाममा इतिहास, भाषा र अग्रज स्रष्टाको योगदानलाई बिर्सन नहुने धारणा राखे । नयाँ पुस्ताले आधुनिक सोचसँगै आफ्नो मौलिक साहित्यिक र सांस्कृतिक विरासतको सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमकै अवसरमा छन्दकवि रोहिणी रसिकलाई दोसल्ला, सम्मानपत्र तथा नगद १५ हजार पाँच रुपैयाँसहित सम्मान गरिएको थियो । उनलाई प्रमुख अतिथि खेम नेपाली र प्राचार्य पुरीले संयुक्त रूपमा सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, विद्यालयका उपप्राचार्य कुन्दन पुरी, शिक्षक–शिक्षिका तथा कक्षा ११ र १२ का विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विद्यालयले हरेक वर्ष भानु जयन्तीमा कविता प्रतियोगिता आयोजना गर्ने गरिएको कार्यक्रम संयोजक खम्बसिंह नेपालले जानकारी दिए ।