झापामा पाँच भूमिहीन सुकुम्वासी परिवारले पाए लालपुर्जा, वितरण अभियान विस्तार हुँदै

Breaking Nepal

सोमबार ,असार २९ , २०८३ १६:४७

काठमाडौं– भूमि समस्या समाधान आयोगले झापाका पाँच भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गरेको छ।

आयोगका अध्यक्ष बलभद्र बास्तोलाका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका–४ का पाँच जग्गाविहीन परिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो। लालपुर्जा वितरणसँगै ती परिवारले सम्बन्धित जग्गामा कानुनी स्वामित्व प्राप्त गरेका छन्।

सरकारले गत असार १८ गते बर्दियाबाट भूमिहीनलाई लालपुर्जा वितरण अभियान सुरु गरेको थियो। अभियानको पहिलो चरणमा बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा सुकुम्वासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको थियो।

सरकारले वास्तविक भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या चरणबद्ध रूपमा समाधान गर्दै देशभर पात्र नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यका साथ लालपुर्जा वितरण अभियानलाई विस्तार गर्ने जनाएको छ।