Breaking Nepal

काठमाडौं / काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएपछि सोमबार परिवार तथा आफन्तको उपस्थितिमा उनको अन्तिम संस्कार गरिएको हो ।
नेपालीले गत बिहीबार राहदानी विभागको परिसरबाहिर शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । घटनापछि गम्भीर रूपमा जलेका उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। चिकित्सकको निरन्तर प्रयासका बाबजुद शुक्रबार उनको मृत्यु भएको थियो ।
घटनापछि पीडित परिवारले राहत, क्षतिपूर्ति तथा घटनासम्बन्धी निष्पक्ष छानबिनको माग गर्दै शव बुझ्न अस्वीकार गरेको थियो । त्यसपछि सरकार र पीडित पक्षबीच भएको वार्तामा आइतबार ९ बुँदे सहमति भएपछि शव अन्तिम संस्कारका लागि परिवारलाई जिम्मा दिइएको हो ।
सहमतिअनुसार मृतक परिवारलाई आवश्यक राहत उपलब्ध गराउने, घटनाका कारण र परिस्थितिबारे छानबिन गर्ने, दोषी देखिए कानुनबमोजिम कारबाही अघि बढाउने तथा पीडित परिवारका अन्य जायज माग सम्बोधन गर्ने विषय समेटिएको जनाइएको छ ।
यस घटनाले मानसिक, सामाजिक तथा प्रशासनिक दबाबका कारण नागरिक चरम कदम चाल्न बाध्य हुने अवस्थाप्रति राज्य संयन्त्र संवेदनशील बन्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ ।