कोशी सञ्चार प्रतिष्ठानले पायो नेतृत्व, दीपक दाहाल अध्यक्ष र लिलाराज भट्टराई प्रेस रजिस्ट्रार नियुक्त

Breaking Nepal

मंगलबार ,असार ३० , २०८३ ०९:१५

विराटनगर । कोशी प्रदेश सरकारले कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानलाई पूर्णता दिँदै प्रतिष्ठानको अध्यक्षमा पत्रकार दीपक दाहाल र प्रदेश प्रेस रजिस्ट्रारमा लिलाराज भट्टराईलाई नियुक्त गरेको छ।

सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश आमसञ्चार ऐन, २०८२ को दफा ४ बमोजिम दाहाललाई प्रतिष्ठानको अध्यक्ष तथा सिफारिस समितिको सिफारिसका आधारमा भट्टराईलाई प्रेस रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्षसमेत रहेका दाहालको नेतृत्वमा प्रतिष्ठानले प्रदेशको सञ्चार क्षेत्रलाई संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। प्रेस रजिस्ट्रारका रूपमा नियुक्त भट्टराईले प्रदेशभित्र सञ्चालित सञ्चारमाध्यमको नियमन, अभिलेखीकरण र प्रशासनिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।

मन्त्रिपरिषद्ले प्रतिष्ठानका सात सदस्यसमेत नियुक्त गर्दै संस्थालाई पूर्णता दिएको छ। सदस्यमा शान्ति दाहाल (मोरङ), ध्रुव ढकाल (सुनसरी), रमेशचन्द्र अधिकारी (धनकुटा), अर्जुन राजवंशी (झापा), विष्णुप्रसाद पोखरेल (झापा), माला पालुङ्वा (ताप्लेजुङ) र रेणु पराजुली (उदयपुर) रहेका छन्।

प्रतिष्ठानमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सञ्चार महाशाखा प्रमुख र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ। यससँगै प्रतिष्ठान ११ सदस्यीय बनेको छ।

आमसञ्चार ऐन, २०८२ अनुसार प्रतिष्ठानले प्रदेशभित्र सञ्चालित सञ्चारमाध्यमको दर्ता, नवीकरण, अनुगमन, अभिलेखीकरण, सञ्चार क्षेत्रको विकास तथा प्रवर्द्धनका साथै पत्रकार र सञ्चारमाध्यममा कार्यरत जनशक्तिको क्षमता तथा हित अभिवृद्धिसम्बन्धी काम गर्नेछ। सरकारको यो निर्णयसँगै प्रदेशको सञ्चार प्रशासनलाई थप व्यवस्थित र संस्थागत बनाउने प्रक्रिया अघि बढेको अपेक्षा गरिएको छ।