मोरङ उद्योग व्यापार संघको ऐतिहासिक उपलब्धि, आईसीसी सदस्यतासँगै विश्व बजारमा प्रत्यक्ष पहुँच

Breaking Nepal

बुधबार ,असार ३१ , २०८३ ०८:२८

विराटनगर / मोरङ उद्योग व्यापार संघले विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको व्यापारिक सञ्जाल इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) को सदस्यता प्राप्त गर्दै अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ । नेपालकै पहिलो उद्योग वाणिज्य संघका रूपमा स्थापित मोरङ उद्योग व्यापार संघ अब विश्वका एक सयभन्दा बढी देशका उद्योग वाणिज्य संघ, व्यावसायिक संस्था तथा करोडौँ उद्यम–व्यवसायसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

संघका अध्यक्ष अनुपम राठीका अनुसार संघले सन् २०२५ देखि आईसीसीको सदस्यता प्राप्त गरेको हो । यससँगै नेपाली उद्योगी तथा व्यवसायीले आईसीसीमार्फत उपलब्ध हुने अन्तर्राष्ट्रिय सेवा, सुविधा, सञ्जाल र व्यापारिक अवसरमा प्रत्यक्ष पहुँच पाउने भएका छन् ।

आईसीसीले विश्वव्यापी निजी क्षेत्रको हित संरक्षण, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, लगानी प्रवर्द्धन, नीति निर्माण, व्यावसायिक क्षमता विकास तथा अन्तरदेशीय सहकार्यमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । सदस्यता प्राप्तिसँगै मोरङ उद्योग व्यापार संघले नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय व्यापार, भन्सार नीति, लगानी, बौद्धिक सम्पत्ति अधिकार, डिजिटल अर्थतन्त्रलगायत विषयमा हुने विश्वस्तरीय छलफल र नीति निर्माण प्रक्रियामा सहभागिता जनाउन सक्नेछ ।

राठीका अनुसार यसबाट नेपाली उद्योगी–व्यवसायीका धारणा र सुझाव अन्तर्राष्ट्रिय नीति निर्माण प्रक्रियामा पुर्‍याउन सहज हुनेछ । साथै, अस्थायी आयात–निर्यातलाई सहज बनाउन आईसीसीद्वारा सञ्चालित एटीए कार्नेट प्रणालीको सुविधा पनि संघमार्फत नेपाली व्यवसायीले उपयोग गर्न सक्नेछन् ।

निर्यातकर्ताले अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक प्रमाणपत्र, व्यावसायिक सिफारिस तथा विभिन्न व्यापारिक कागजात संघमार्फत प्राप्त गर्न सक्ने व्यवस्था हुने जनाइएको छ । यसले विशेषगरी निर्यातमुखी उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।

संघले आफ्ना सदस्य प्रतिष्ठानलाई विश्वका विभिन्न देशका चेम्बर अफ कमर्श तथा व्यावसायिक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउने, अन्तर्राष्ट्रिय व्यापार मेला, व्यवसायिक सम्मेलन, प्रतिनिधिमण्डल आदान–प्रदान तथा बिजनेस–टु–बिजनेस (बी–टु–बी) म्याचमेकिङ कार्यक्रममा सहभागिताको अवसर उपलब्ध गराउने जनाएको छ।

आईसीसीअन्तर्गत रहेको वल्र्ड चेम्बर्स फेडरेशन (डब्लूसीएफ) का चेम्बर मेन्टरशिप कार्यक्रम, क्षमता अभिवृद्धि तालिम, अन्तर्राष्ट्रिय सेमिनार, वेबिनार तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रममा समेत संघ र यसका सदस्य उद्योग–व्यवसायले सहभागी हुने अवसर प्राप्त गर्नेछन् । त्यस्तै, आईसीसीबाट प्रकाशित अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान प्रतिवेदन तथा बजार विश्लेषण सामग्रीमा पनि सदस्यको पहुँच रहनेछ ।

संघका अनुसार यसबाट विशेषगरी साना तथा मझौला उद्योगले अन्तर्राष्ट्रिय बजार, व्यापारिक प्रवृत्ति र व्यवसाय विस्तारसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्नेछन् । साथै, अन्तर्राष्ट्रिय व्यापारिक विवाद समाधानका लागि आईसीसीको विश्वप्रसिद्ध मध्यस्थता तथा वैकल्पिक विवाद समाधान सेवासमेत नेपाली व्यवसायीले उपयोग गर्न सक्नेछन् ।

अध्यक्ष राठीले आईसीसी सदस्यता मोरङ उद्योग व्यापार संघका लागि मात्र नभई समग्र नेपाली निजी क्षेत्रकै ऐतिहासिक उपलब्धि भएको बताए । उनका अनुसार यसले नेपाली उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तार, निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षण तथा विश्वव्यापी व्यापारिक मञ्चमा नेपाली व्यवसायीको उपस्थिति सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

उनले आगामी दिनमा संघले अन्तर्राष्ट्रिय सञ्जालमार्फत नेपाली उत्पादनको प्रवर्द्धन, निर्यातमुखी उद्योगलाई सहजीकरण, अन्तर्राष्ट्रिय प्रमाणीकरण प्रक्रियामा सहयोग, व्यवसायिक भ्रमण आदान–प्रदान तथा सुरक्षित र दिगो व्यवसायिक वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य लिएको बताए । आईसीसी सदस्यतासँगै संघले आफ्ना सदस्य व्यवसायलाई विश्वस्तरीय सेवा उपलब्ध गराउँदै नेपालको व्यापारिक पहुँचलाई थप विस्तार गर्ने रणनीति अघि बढाएको जनाएको छ ।