केराबारीमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु, चालक पक्राउ

Breaking Nepal

शुक्रबार ,साउन १ , २०८३ ११:१७

विराटनगर । मोरङको केराबारी गाउँपालिकामा टिपरको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान भएको दुर्घटनामा केराबारी–५ निवासी ७० वर्षीया विष्णुमाया मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार बालुवा बोकेर केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बिहान करिब ८ः५० बजे शान्ति चोकमा मगरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरमा पालेको खसी खेदाउने क्रममा सडक पार गर्न खोज्दा दुर्घटना भएको देखिएको छ। घटनापछि प्रहरी टोली तत्काल घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो।

दुर्घटनामा संलग्न टिपरका चालक संखुवासभाको चैनपुर नगरपालिका–११ स्थायी घर भई हाल धरान–१३ बस्दै आएका २३ वर्षीय विक्रम माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय केराबारीको टोलीले चालकलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा बुझाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।