सुनको मूल्य एकैदिन तोलामा ३ हजार १०० रुपैयाँ घट्यो, आजदेखि गहनामा ०.५ प्रतिशत सिप प्रवर्द्धन शुल्क लागू

Breaking Nepal

शुक्रबार ,साउन १ , २०८३ १२:०१

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन तोलामा ३ हजार १०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ।

अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। एक साताअघि गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ पुगेको थियो। त्यसयता सुनको मूल्यमा उल्लेख्य गिरावट आएको देखिएको छ।

चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १२५ रुपैयाँले घटेर ४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो भने गत शुक्रबार यसको मूल्य ४ हजार ५१० रुपैयाँ थियो।

यसैबीच, शुक्रबारदेखि सुनचाँदीका गरगहनामा ०.५ प्रतिशत सिप प्रवर्द्धन शुल्क लागू भएको छ। यो शुल्क बिक्रीकर्ताले अन्तिम बिक्री मूल्यमा समावेश गरी असुल गर्ने व्यवस्था गरिएको छ।

यता, यसअघि सुनका गरगहनामा लाग्दै आएको २ प्रतिशत विलासी वस्तु कर भने हटाइएको छ। नयाँ व्यवस्थासँगै सुनका गहनाको कर संरचनामा परिवर्तन भएको छ।