एसियन कराँते कोचमा विराटनगरका सुरज कामत सफल, नेपालबाट ९ जना मात्रै उत्तीर्ण

Breaking Nepal

सोमबार ,साउन ४ , २०८३ ११:०३

विराटनगर : कोशी प्रदेशका विराटनगर निवासी सुरज कामत एसियन कराँते कोचका रूपमा मान्यता प्राप्त गर्न सफल भएका छन्। बंगलादेशको ढाकामा सम्पन्न १०औँ क्याडेट, जुनियर यू–२१ तथा सिनियर साउथ एसियन कराँते च्याम्पियनसिप–२०२६ अन्तर्गत आयोजित रेफ्री तथा कोच प्रमाणीकरण परीक्षामा उनी सफल भएका हुन्।

साउथ एसियन कराँते डो संघको आयोजनामा जुलाई १७ मा सम्पन्न परीक्षामा एसिया तथा दक्षिण एसियाका विभिन्न मुलुकका प्रशिक्षक र रेफ्रीहरूको सहभागिता रहेको थियो। प्रतियोगितासँगै सञ्चालन गरिएको उक्त प्रमाणीकरण परीक्षा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक र निर्णायकको दक्षता मूल्यांकनका लागि आयोजना गरिएको थियो।

नेपालबाट ३८ जनाले परीक्षा दिएकोमा ९ जना मात्र उत्तीर्ण भएका छन्। तीमध्ये विराटनगरका कामत पनि परेका छन्। सीमित संख्यामा मात्र सहभागी सफल भएको परीक्षामा कामतको उपलब्धिलाई नेपाली कराँतेका लागि महत्त्वपूर्ण मानिएको छ।

कामतको सफलतासँगै कोशी प्रदेशको कराँते क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा अर्को उपलब्धि थपेको छ। यस उपलब्धिले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई उच्चस्तरीय प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रमाणिकरणतर्फ अघि बढ्न थप प्रेरणा पुग्ने अपेक्षा गरिएको छ।