Breaking Nepal

विराटनगर / मेची राजमार्ग अन्तर्गत इलाम खण्डको जीर्ण अवस्थाले पूर्वी पहाडी जिल्लाको आर्थिक गतिविधि गम्भीर रूपमा प्रभावित भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले तत्काल सडक स्तरोन्नतिको काम तीव्र बनाउन सरकारसँग माग गरेको छ।
महासंघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत मेची राजमार्गसँगै
इलाम–पाँचथर–ताप्लेजुङ सडक सञ्जालको निर्माण तथा स्तरोन्नति युद्धस्तरमा अघि बढाउन आग्रह गर्दै सडकको दुरावस्थाले कृषि, व्यापार, पर्यटन र उद्योग क्षेत्रलाई प्रत्यक्ष असर पुर्याइरहेको जनाएको हो।
महासंघका अनुसार पूर्वी पहाडको आर्थिक मेरुदण्डका रूपमा रहेको सडक सञ्जाल जीर्ण बन्दा चिया, अलैँची, अदुवा, दूध, फलफूल तथा तरकारीजस्ता कृषि उपज समयमै बजारसम्म पुर्याउन कठिनाइ भएको छ। यसले किसान र व्यवसायी दुवैलाई ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य बनाएको छ भने ढुवानी खर्च अस्वाभाविक रूपमा बढेको छ।
विज्ञप्तिमा सडकको खराब अवस्थाका कारण पर्यटकको आवागमनमा समेत उल्लेख्य गिरावट आएको उल्लेख गर्दै त्यसको प्रत्यक्ष प्रभाव होटल, पर्यटन, उद्योग तथा व्यापार क्षेत्रमा परेको जनाइएको छ।
महासंघका अध्यक्ष राजेन्द्र राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगत लामो समयदेखि सडक सुधारका प्रतिबद्धता दोहोरिए पनि कार्यान्वयन प्रभावकारी हुन नसक्दा निजी क्षेत्र, कृषक तथा सर्वसाधारणमा निराशा बढ्दै गएको उल्लेख गरिएको छ। अब आश्वासनभन्दा परिणाममुखी काम आवश्यक रहेको महासंघको धारणा छ।
महासंघले सडक स्तरोन्नतिका लागि आवश्यक बजेट, जनशक्ति र स्रोत–साधन तत्काल परिचालन गरी निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग माग गरेको छ। कोशी प्रदेशको समग्र आर्थिक गतिविधि र पूर्वी पहाडको उत्पादनशील अर्थतन्त्रलाई चलायमान राख्न मेची राजमार्गको स्तरोन्नति अपरिहार्य रहेको उल्लेख गर्दै थप ढिलाइले आर्थिक जोखिम अझ गहिरिने चेतावनी पनि दिएको छ।