Breaking Nepal

विराटनगर / कुनै समय नेपाली बजारमा चाउचाउ भन्नासाथ धेरै उपभोक्ताको रोजाइमा पर्ने ‘रमपम’ अहिले भने गम्भीर विवादको केन्द्रमा पुगेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले (ए–२३ सी–२) ब्याच का रमपम चाउचाउ गुणस्तरहीन तथा अखाद्य प्रमाणित गर्दै तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएपछि उपभोक्तामाझ खाद्य सुरक्षाबारे नयाँ चिन्ता थपिएको हो । विभागले उक्त ब्याचका उत्पादन बिक्री वितरण रोक्न, बजारबाट फिर्ता संकलन गर्न तथा उपभोक्तालाई प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको छ । तर सरकारी निर्देशनपछि पनि केही स्थानमा सोही ब्याचका उत्पादन बिक्री भइरहेको दाबीले नियमनको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
खाद्य सुरक्षाका विज्ञहरूका अनुसार कुनै एक ब्याच परीक्षणमा गुणस्तरहीन प्रमाणित हुनु आफैंमा गम्भीर विषय हो । यस्ता अवस्थामा सम्बन्धित ब्याच पूर्ण रूपमा बजारबाट हटाइएको सुनिश्चित नगरेसम्म उपभोक्ताले सावधानी अपनाउनु आवश्यक हुन्छ ।
बजारमा अझै बिक्री भइरहेको आशंका
उपभोक्ता अधिकारकर्मीहरूका अनुसार नेपालमा विगतमा पनि गुणस्तरहीन खाद्य वस्तु फिर्ता गर्ने सरकारी निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेका उदाहरण छन् । कतिपय अवस्थामा विवादित उत्पादन सस्तो मूल्यमा होटल, चटपटे पसल वा दुर्गम बजारमा बिक्री गरिएको आरोप लाग्दै आएको छ ।
यही कारण रमपमको विवादित ब्याच पनि पूर्ण रूपमा बजारबाट हटेको छ वा छैन भन्ने विषयमा उपभोक्तामा अन्योल देखिएको छ । यदि गुणस्तरहीन उत्पादन अझै बिक्री भइरहेको पुष्टि भए त्यसले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलबाड हुने सरोकारवालाको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा गएको उत्पादन फिर्ता गर्न निर्देशन दिए पनि त्यो सम्भव नभएको उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ बताउँछन् । उनका अनुसार पहाडी र हिमाली जिल्लाका गाउँबस्तीमा पुगेको गुणस्तरहीन रमपम चाउचाउ फिर्ता गर्न असम्भव छ ।
‘विभाग र उत्पादकले गुणस्तरहीन प्रमाणित भएको चाउचाउ प्रयोग नगर्न भनेर सूचना जारी गर्नुपथ्र्यो,’ अध्यक्ष भण्डारीले भने, ‘तर यहाँ धेरै कुरामा उत्पादक र विभागको मिलेमतो देखिन्छ । यसअघि पनि रमपमका बारेमा धेरै गुनासो आएको थियो । गुणस्तरमा मात्रै होइन तौलका विषयमा पनि गुनासो आएको थियो । तर बजार अनुगमन कसले गर्ने ? उदाहरणका लागि ६० ग्राम तौल हुनुपर्नेमा ५०–५५ ग्राम राख्यो भने उपभोक्तालाई के थाहा ? यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने हो । यहाँ नजाँनिदो तरिकाबाट उपभोक्तामाथि ठगी भइरहेको छ ।’
बालबालिकामा बढी जोखिम
चाउचाउ विशेषगरी बालबालिका तथा किशोर–किशोरीबीच लोकप्रिय खाद्य सामग्री हो । त्यसैले गुणस्तरहीन प्रमाणित उत्पादन उनीहरूको पहुँचमा पुग्नु झन् चिन्ताको विषय मानिएको छ ।
विशेषज्ञहरूका अनुसार अभिभावकले चाउचाउ खरिद गर्दा उत्पादनको ब्याच नम्बर र सम्बन्धित सरकारी सूचना अनिवार्य रूपमा हेर्नुपर्ने आवश्यकता छ । गुणस्तरहीन प्रमाणित उत्पादन प्रयोग गर्दा स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
कम्पनीको दायित्व र नियामकको परीक्षा
खाद्य सुरक्षा सम्बन्धी मापदण्डअनुसार कुनै उत्पादन गुणस्तरहीन प्रमाणित भए त्यसलाई बजारबाट फिर्ता ल्याउने, नष्ट गर्ने तथा उपभोक्तालाई स्पष्ट सूचना दिने जिम्मेवारी उत्पादक कम्पनीको हुन्छ ।
यस घटनाले नियामक निकायको अनुगमन क्षमता, बजार नियन्त्रण प्रणाली र ‘रिकल’ (फिर्ता संकलन) प्रक्रिया कत्तिको प्रभावकारी छ भन्ने प्रश्न पनि उठाएको छ । उपभोक्ताको विश्वास कायम राख्न सम्बन्धित निकायले विवादित उत्पादन पूर्ण रूपमा बजारबाट हटेको प्रमाण सार्वजनिक गर्नुपर्ने अर्का उपभोक्तावादी नेता स्वयम्भूनाथ कार्कीले माग गरे ।
अन्य उत्पादनमाथि पनि परीक्षणको माग
रमपम उत्पादन गर्ने कम्पनीकै अर्को ब्रान्ड ‘टुपीएम’ चाउचाउको गुणस्तरबारे पनि स्वतन्त्र परीक्षण गर्नुपर्ने आवाज उठ्न थालेको छ । एउटै उत्पादन केन्द्रबाट निर्माण हुने अन्य उत्पादनले पनि गुणस्तर मापदण्ड पूरा गरेका छन् वा छैनन् भन्ने विषयमा नियामक निकायले स्पष्टता दिनुपर्ने उपभोक्ता कार्कीको भनाइ छ ।
उत्पादक के भन्छन् ?
यस विषयमा एशियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले (ए–२३ सी–२) ब्याच का रमपम चाउचाउमा कमजोरी भेटिएको स्वीकारे । ‘रमपमको उक्त ब्याजका चाउचाउमा कमजोर भेटियो,’ ब्रेकिङ नेपाल न्यूजलाई प्रतिक्रिया दिँदै जाजुले भने, ‘विभागको निर्देशनपछि बजारबाट सबै चाउचाउ उठाइसकिएको छ । साथै विभागलाई पत्र पनि पठाइसकेका छौं ।’