अन्तर्राष्ट्रिय सीमाको बेहाल: रानी भन्सारको मूल गेटमै वर्षौंदेखि पानी जम्दा यात्रु सास्तीमा

Breaking Nepal

मंगलबार ,साउन ५ , २०८३ १८:०९

विराटनगर । नेपाल–भारत सीमा रानी भन्सारको मूल प्रवेशद्वारमै वर्षौंदेखि पानी जम्ने समस्या अझै समाधान हुन सकेको छैन। अन्तर्राष्ट्रिय सीमाको मुख्य प्रवेशमार्ग भएर पनि सडक जीर्ण र जलमग्न अवस्थामा रहँदा दैनिक हजारौँ सर्वसाधारण, पर्यटक तथा सवारी चालकले सास्ती खेपिरहेका छन्। पटक–पटक उच्चस्तरीय अनुगमन भए पनि समस्या यथावत् रहँदा स्थानीयवासीले सम्बन्धित निकायप्रति गुनासो गरेका छन्।

नेपाल–भारत सीमास्थित रानी भन्सारको मूल गेट, जसलाई ‘वेलकम गेट’ समेत भनिन्छ, त्यहीँ अगाडिको सडक वर्षौंदेखि पानी जम्ने समस्याले ग्रस्त छ। वर्षा होस् वा घाम, जाडो होस् वा गर्मी, सडकमा पानी जमिरहने गरेको स्थानीय बताउँछन्। सडकमा बनेका खाल्डाखुल्डीका कारण पैदलयात्रीदेखि रिक्सा, मोटरसाइकल, कार तथा मालवाहक सवारीसाधनसम्म आवतजावत गर्न कठिनाइ भइरहेको छ।

स्थानीयका अनुसार सडकमा जमेको पानीका कारण धेरै यात्रु लडेर घाइते भइसकेका छन्। दैनिक हजारौँ नेपाली र भारतीय नागरिक यही बाटो भएर आवतजावत गर्ने भए पनि सम्बन्धित निकायले समस्या समाधानमा चासो नदिएको उनीहरूको गुनासो छ।

यो सडक भारतको बिहार राज्यस्थित अररिया जिल्लाको जोगबनीसँग जोडिने नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार हो। यही बाटो हुँदै नेपाल आउने भारतीय पर्यटकले पनि पहिलो नजरमै अव्यवस्थित सडक देख्न बाध्य छन्। स्थानीयका अनुसार अन्तर्राष्ट्रिय सीमाको यस्तो अवस्था देख्दा नेपालप्रति नकारात्मक सन्देश जाने गरेको छ।

रतुवामाई नगरपालिका निवासी बिनु राणा भन्छन्, “यो सडकको अवस्था देख्दा लाज लाग्छ। चारपांग्रे सवारी चलाउँदा सडकमा जमेको फोहोर पानी पैदलयात्रीमाथि नछ्यापियोस् भनेर डर लाग्छ। यदि पानी छ्यापियो भने विवाद हुने र हातपातसम्मको अवस्था आउला भन्ने चिन्ता हुन्छ।”

भारतको जोगबनीका मोहम्मद अफताब आलम ले पनि सडकको अवस्था तत्काल सुधार गर्नुपर्ने बताए। उनका अनुसार सीमाबाट आवतजावत गर्ने सर्वसाधारणलाई निकै सास्ती भइरहेको छ।

किनमेलका लागि बेलबारीबाट जोगबनी पुगेका ईश्वर गिरी ले गृहमन्त्री सुदन गुरुङले केही दिनअघि सीमा क्षेत्रको अनुगमन गरे पनि सडकको अवस्था जस्ताको त्यस्तै रहेको बताए। उनले मोरङ क्षेत्र नम्बर ५ का जनप्रतिनिधिहरूलाई पनि सडक सुधारमा सक्रिय हुन आग्रह गर्दै अनुगमन मात्र नभई समस्या समाधानतर्फ ध्यान दिनुपर्ने बताए।

स्थानीयका अनुसार रानी भन्सार क्षेत्रको यो समस्या आजको होइन, कैयौँ वर्षदेखि दोहोरिँदै आएको हो। तर सम्बन्धित निकायबीच समन्वय अभाव र बेवास्ताका कारण समाधान हुन सकेको छैन।

अन्तर्राष्ट्रिय सीमाको पहिलो प्रवेशद्वारमै रहेको यो जीर्ण सडक तत्काल मर्मत तथा उचित निकास व्यवस्थापन गर्न स्थानीयवासीले सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार नेपाल प्रवेश गर्ने हरेक विदेशीले सबैभन्दा पहिले यही दृश्य देख्ने भएकाले अन्तर्राष्ट्रिय सीमाको गरिमा जोगाउन पनि यस सडकको सुधार अब टार्न नमिल्ने विषय बनेको छ।