Breaking Nepal

विराटनगर : सशस्त्र प्रहरी बलले मोरङका विभिन्न सीमावर्ती नाकामा सञ्चालन गरेको विशेष अभियानका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १४ लाख ८६ हजार रुपैयाँ बराबरका सामान तथा सवारी साधन बरामद गरेको छ। कारबाहीका क्रममा एक जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा सिटी सफारीमार्फत ल्याइँदै गरेको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो। त्यस्तै, बिल–बीजकबिनै कुरियरमार्फत पठाउन तयारी अवस्थामा रहेका करिब ५ लाख ८० हजार २८० रुपैयाँ बराबरका लत्ताकपडा र कस्मेटिक सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका औषधि, स्कुटर, सिटी सफारी र कागती सहित करिब ५ लाख ५२ हजार ४६० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ।
बरामद गरिएका सबै सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए।
उनका अनुसार सीमावर्ती क्षेत्रमा चोरी–तस्करी तथा भन्सार छली नियन्त्रण गर्न निगरानी थप कडा पारिएको छ। उनले अवैध आयात–निर्यात रोक्न सम्बन्धित सबै निकायसँग समन्वय गरेर नियमित चेकजाँचलाई प्रभावकारी बनाइएको पनि बताए।