Breaking Nepal

काठमाडौं । सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउने र उपभोक्तामा खरिद गर्दा बिल लिने बानी विकास गराउने उद्देश्यले नगद पुरस्कार योजना सुरु गरेको छ।
अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गर्दै आन्तरिक राजस्व विभागमार्फत दैनिक र बम्पर नगद पुरस्कार वितरण गर्ने व्यवस्था गरेको हो।
कार्यविधिअनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एक पटकमा कम्तीमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्ने अन्तिम उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन्।
विद्युतीय माध्यमबाट गरिएको भुक्तानी स्वतः कार्यक्रममा समावेश हुनेछ। नगद वा अन्य माध्यमबाट खरिद गर्ने उपभोक्ताले भने आन्तरिक राजस्व विभागको वेबसाइट वा मोबाइल एपमार्फत बीजक नम्बर, प्यान, खरिद मिति, रकम र आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।
व्यावसायिक प्रयोजनका खरिद, सरकारी तथा सार्वजनिक निकायका बीजक, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारीसाधन तथा हवाई टिकटका बीजक भने यस योजनामा समावेश हुने छैनन्।
प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरिनेछ। दैनिक एक जना विजेताले १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ र प्रत्येक पन्ध्र दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
पुरस्कार रकमबाट कानुनबमोजिम २५ प्रतिशत कर कट्टा गरी बाँकी रकम विजेताको बैंक खातामा जम्मा गरिनेछ। विजेताले नतिजा सार्वजनिक भएको १५ दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाबी पेश गर्नुपर्नेछ।
तोकिएको समयभित्र पुरस्कार दाबी नगरेमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ भने झुट्टा वा किर्ते कागजात पेश गरी पुरस्कार लिन खोजे कानुनअनुसार कारबाही गरिने व्यवस्था गरिएको छ।