मिसिल जलेपछि उच्च अदालत विराटनगरको न्याय सम्पादनमा असर, ३ हजारभन्दा बढी मुद्दा अझै विचाराधीन

Breaking Nepal

मंगलबार ,साउन ५ , २०८३ १३:०३

विराटनगर /  उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका तथा पुराना गरी ४ हजार ९९ वटा मुद्दा फैसला गरेको छ। अदालतमा सो अवधिमा ७ हजार १५७ वटा मुद्दा दर्ता भएका थिए।

अदालतले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार हाल ३ हजार ५८ वटा नियमित मुद्दा र १८ महिनाभन्दा बढी समयदेखि विचाराधीन रहेका ८७ वटा मुद्दा फैसला हुन बाँकी छन्।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा मुद्दाका मिसिल तथा अभिलेख जलेका कारण न्याय सम्पादन प्रभावित भएको बताए। उनका अनुसार मिसिल नष्ट भएकाले कतिपय मुद्दाको सुनुवाइ तथा फैसला प्रक्रियामा ढिलाइ भएको हो।

अदालतका अनुसार हाल विचाराधीन मुद्दामध्ये ४७ वटा मुद्दाको मिसिल अझै प्राप्त हुन सकेको छैन । आन्दोलनका क्रममा करिब ७० हजार मुद्दासम्बन्धी अभिलेख जलेका थिए। तीमध्ये हालसम्म १ हजार ६ सय मुद्दाको पुनः मिसिल खडा गरिएको अदालतले जनाएको छ।

पत्रकार सम्मेलनमा अदालतले गत आर्थिक वर्षको फैसला विवरण, व्यवस्थापकीय सुधारका प्रयास तथा न्यायिक सेवा प्रभावकारी बनाउन सञ्चालन गरिएका विभिन्न कार्यक्रमबारे पनि जानकारी गराएको छ ।