Breaking Nepal

जनकपुर । जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङको स्वागतका लागि भेला भएका समर्थक र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच विवाद हुँदा केहीबेर तनावको अवस्था सिर्जना भएको छ।
सम्पाङ मन्दिर दर्शनका लागि आउनुअघि नै स्वागतमा पुगेका उनका समर्थकविरुद्ध हिन्दु सम्राट सेनाका कार्यकर्ताले नाराबाजी गर्दै विरोध जनाएका थिए। त्यसक्रममा दुवै पक्षबीच भनाभन भएपछि समर्थकहरू मन्दिर परिसरबाट पछि हटेका थिए।
घटनापछि हर्क सम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै जनकपुरमा “लफडा” भएको उल्लेख गरेका छन्। उनले आफूले गृहमन्त्रीसँग सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको दाबी गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।
अर्को स्टाटसमा उनले पुराना विषय र धर्मसँग सम्बन्धित विवादलाई लिएर अवरोध सिर्जना गरिएको भन्दै दुःख व्यक्त गरेका छन्।
घटनापछि कुनै अप्रिय अवस्था हुन नदिन जानकी मन्दिर आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।