बजारको अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा १ खर्ब रुपैयाँ निक्षेप सङ्कलन

Breaking Nepal

बुधबार ,साउन ६ , २०८३ ११:११

काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले १ खर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८३ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन आज बोलकबोल आह्वान गरेको हो। बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ भने निक्षेप सङ्कलन उपकरणको निष्कासन पनि आजै गरिनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट तय हुनेछ। साँवा तथा ब्याज २०८३ असोज २७ गते एकमुष्ट भुक्तानी गरिनेछ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिनेछ। एउटै बैंक वा वित्तीय संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा भाग लिन पाउनेछन्। आवेदनमा निक्षेप रकम र दशमलवपछि चार अंकसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ।

सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आवश्यक रकमसम्म प्रस्ताव स्वीकृत गरिने राष्ट्र बैंकले जनाएको छ। समान ब्याजदरमा माग बढी भए ‘प्रो–राटा’ प्रणालीअनुसार बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलन उपकरणलाई लगानी पोर्टफोलियोमा गणना गरिनेछ। यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नमिल्ने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा समावेश गर्न सकिनेछ। साथै, परिपक्व अवधि पूरा हुनुअघि पूर्वभुक्तानीको सुविधा उपलब्ध नहुने स्पष्ट गरिएको छ।