Breaking Nepal

जनकपुर / धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित ग्रिन बायो फ्युल उद्योग प्रालिमा ग्यास चुहावटका कारण आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन् ।
बिहीबार बिहान करिब ७ बजे उद्योग परिसरभित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास चुहिएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ। उक्त उद्योग राजेश अग्रवालले सञ्चालन गर्दै आएका छन् ।
दुर्घटनामा बाराको प्रसौनी गाउँपालिका–४, खुट्वा प्रसौनीका २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सारी र २५ वर्षीय धर्मराज महत्तो गम्भीर घाइते भएका छन् । उनीहरूको शरीरका विभिन्न भागमा गम्भीर जलन भएको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनाको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल, जनकपुरमा गरिएको थियो । अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, ढल्केबरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। स्थानीय र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले आगलागीको कारण, क्षतिको विवरण तथा घटनाका अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।