Breaking Nepal

लहान / आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार उनलाई सेवाग्राहीबाट घुस रकम बुझिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
आयोगका अनुसार सिरहा सुपरमार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल ट्याक्स अडिट) गर्ने क्रममा कर अधिकृत पालले अनुकूल प्रतिवेदन तथा करसम्बन्धी प्रक्रिया सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेका थिए ।
सोही सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाई पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका पालमाथि भ्रष्टाचार निवारण ऐनअनुसार थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।